इनरुवाः सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेको एक मुस्लिम संस्थाले २ सय १८ जना अनाथ तथा अति विपन्न बालबालिकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सदरमुकाम इनरुवा–२ मा रहेको हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रस्टले सोमबार २ सय १८ जना अनाथ तथा अति विपन्न बालबालिकालाई जनही रु ३१ हजार २ सय रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराएको ट्रस्टका कार्यक्रम संयोजक हजरत हुसेनले बताए ।

इनरुवा–२ मा रहेको उक्त ट्रस्टले कतार च्यारिटी नेपालको सहयोगमा अनाथ बालबालिकासहित अपाङ्ग, गरीब र विपन्न परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको कार्यक्रम संयोजक हुसेनले बताए । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको उपस्थितिमा ट्रस्टका अध्यक्ष मौलाना हारुन खान मजहरी र कतार च्यारिटी नेपालका कार्यक्रम अधिकृत जियाउल रहमान खानले रकम वितरण गरेका थिए ।

सो कार्यक्रममा १ सय १८ अनाथ बालबालिका, १७ जना अपाङ्गता भएका व्यक्ति, २९ जना गरीब विद्यार्थी, परिचालक ३७ जना र दुई विपन्न परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष मजहरीले बताए ।

ट्रस्टले अनाथ बालबालिकासहित सामाजिक उत्तरदायित्व निर्वाह हुने खालका विभिन्न आवश्यकता अनुरूपका शीर्षकमा विपन्न तथा गरीब परिवारलाई लक्षित गरी सहयोग उपलब्ध गराउँदै आएको छ । ट्रस्टले अनाथ बालबालिकालाई जनही ३१ हजार २ सय रुपैयाँ, अपाङ्गता भएका व्यक्तिलाई जनही ३९ हजार ६ सय र गरीब विद्यार्थीलाई जनही रु ३१ हजार २ सय रुपैयाँ वितरण गरेको थियो । त्यस्तै, परिचालकलाई रु ४८ हजारका दरले र विपन्न परिवारलाई रु ४५ हजारका दरले सहयोगबापतको आर्थिक रकम वितरण गरेको अध्यक्ष मौलाना हारुनले बताए ।

यसैगरी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने छात्रछात्रालाई समेत पुरस्कृत गरिएको थियो । आर्थिक सहयोगका लागि ट्रस्टमा सुनसरीसहित झापा, मोरङ, सप्तरी र सिरहाबाट आवेदन परेका थिए । प्राप्त आवेदनमध्ये प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराइएको कार्यक्रम संयोजक हुसेनले बताए ।