विराटनगरः नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीहरूले हरेक वर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यस वर्ष ८ दिनसम्म सञ्चालन गरिएको हो ।
फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कबड्डी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत करिब २० वटा प्रतियोगिता भएको आयोजकले जनाएको छ । जसमध्ये पुरुष फुटबलतर्फ एमबीबीएस आठौं ब्याचका विद्यार्थीलाई पराजित गर्दै सुरक्षा गार्ड समूह विजयी बन्यो ।
महिला फुटबलमा एमबीबीएस १० ब्याचलाई हराउँदै एमबीबीएस ९ ब्याच विजयी भयो । पुरुष क्रिकेटमा एमबीबीएस ११ ब्याचलाई पछि पार्दै १२ ब्याच विजयी बन्यो । महिला क्रिकेटमा पनि एमबीबीएस ११ ब्याचलाई पराजित गर्दै १२ ब्याच विजयी भएको छ । त्यस्तै पुरुष र महिला दुवैतर्फ भएको ५ किलोमिटर म्याराथनमा एमबीबीएसका दिनेश हस्दा र संयोजना गुरुङ विजयी भए ।
विजयी टिम र खेलाडीलाई समापन कार्यक्रममा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सोही अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । फियस्टालाई यस वर्ष सेन्टर मलले प्रायोजन गरेको हो । नोबेलमा एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाइजिन, डिफार्म लगायतका सङ्कायमा करिव २ हजार विद्यार्थी अध्ययन गर्दै आएको अस्पतालले जनाएको छ ।