धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर गुरु खनाल र रजिष्टार तुलबहादुर श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुराना फायलको अध्ययन थालेपछि गुहार माग्न काठमाडांै गएका छन् ।
रेक्टर र रजिष्टार दुवै जना अफिसियल कामको लागि भन्दै काठमाडौं गएका हुन् । उनीहरूले प्रधानमन्त्रीलाई उपकुलपति बर्खास्त गर्ने निर्णयलाई सदर गर्न आग्रह पनि गर्ने बताइएको छ ।
यस्तो छ अख्तियारसँग डराउनुको कारण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका धेरै फायलहरू नियन्त्रण गरेर लगेको छ । पूर्व उपकुलपति बीपी दासका पालमा भएका अनियमितताका विषयमा आयोगमा उजुरी परेपछि आयोगले उजुरी परेका सबै फायल नियन्त्रणमा लिएको थियो ।
ती फायलहरूमा रेक्टर गुरु खनालभन्दा पनि पूर्व उपकुलपति बीपी दास र हालका रजिष्टार तुलबहादुर श्रेष्ठको अनियमितता पुष्टि हुने सक्ने सम्भावना छ । पूर्व उपकुलपति दास र रजिष्टार श्रेष्ठले यी फायलहरूको अनुसन्धानलाई पेण्डिङमा राख्न आयोगका आयुक्त राजनारायण पाठकलाई सेटिङ मिलाएका थिए ।
पाठकले आयोगको इटहरीस्थित कार्यालयमा हुनुपर्ने अनुसन्धानलाई काठमाडौं लगेर आफ्नो मातहतमा राखेका थिए । जसका कारण प्रतिष्ठानका कुनै पनि फायलको अनुसन्धान हुन सकेको थिएन । आयुक्त पाठक घुस काण्डमा पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठकसँग भएका धेरै फायलमध्ये प्रतिष्ठानका फायल पनि अनुसन्धान थालेको छ ।
आयोगले अनुसन्धान थालेसँगै पूर्व उपकुलपति दास र रजिष्टार श्रेष्ठले फायलको अनुसन्धान रोक्न वा आफूहरूलाई बचाउनको लागि गुहार माग्न काठमाडौं गएका हुन् । रजिष्टार श्रेष्ठले प्रधानमन्त्रीको विश्वासपात्र आफू भएको दाबी गर्दै प्रतिष्ठानमा उद्दण्डता मच्चाउने गरेका थिए । पूर्व माओवादी केन्द्र निकट रहेका रेक्टर डा. गुरु खनालले प्रचण्डमार्फत् र रजिष्टार श्रेष्ठले प्रधानमन्त्रीमार्फत् प्रतिष्ठानका विषयमा जोगाउन गुहार मागेको स्रोतको दाबी छ ।
यसअघि प्रतिष्ठानका रजिष्टार र रेक्टरले केही सञ्चारमाध्यममार्फत् हालका उपकुलपति राजकुमार रौनियारले प्रतिष्ठानका फायल पेन्डिङमा राख्न राजनारायण पाठकलाई पैसा दिएको भन्दै प्रचार गरेका थिए । प्रतिष्ठानस्थित समाचार स्रोत भन्छ, ‘अख्तियारमा भएका उजुरी र फायलमा पूर्व उपकुलपति दास र रजिष्टार संलग्न छन् । अहिलेका उपकुलपति विरुद्ध आयोगमा फायल छैन अनि किन रौनियारले फायल पेण्डिङमा राख्न सेटिङ मिलाउनु ?’
उपकुलपति रौनियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिष्ठानका फायलहरूको अनुसन्धान चाँडो टुङ्ग्याइदिन आग्रह गरेका थिए । स्रोत भन्छ, ‘आयोगमा अनिर्णित भएर फायलहरू रोकिएकाले काम गर्न समस्या भएकाले छिटो फायलको अध्ययन सक्न आयोगलाई आग्रह गरेको हामीलाई जानकारी छ ।
रजिष्टार र रेक्टरको सेटिङ
अहिले रेक्टर गुरु खनाल र रजिष्टार तुलबहादुर श्रेष्ठले प्रधानमन्त्री र मन्त्रीसँग भएको व्यक्तिगत सम्बन्धका आधारमा उपकुलपति रौनियारलाई हटाउन चलखेल गरिरहेका छन् । यदि उपकुलपति रौनियारलाई हटाएर गुरु खनाललाई उपकुलपति नबनाउने हो भने पूर्व उपकुलपति दास र रजिष्टार तुलबहादुर श्रेष्ठ दुवै अख्तियारबाट सजायको भागिदार हुने देखिन्छ ।
रौनियारले आफू उपकुलपति हुनुभन्दा अगाडिका फायलहरू र अनियमित तरिकाले भएका कामहरू लुकाउन नमानेकै कारण पूर्व उपकुलपति दास र रजिष्टार श्रेष्ठलाई समस्या परेको हो । रौनियारलाई हटाएर खनाललाई उपकुलपति बनाउने हो भने अनियमित कार्य र त्यसका फायलहरूलाई आफूअनुकुल सेटिङ मिलाउन सजिलो हुने भएकाले उनीहरू उपकुलपति रौनियारविरुद्ध लागेका हुन् स्रोतको दाबी छ ।