धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर गुरु खनाल र रजिष्टार तुलबहादुर श्रेष्ठले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई बेबकुफ बनाउन खोजेका छन् । स्रोतका अनुसार प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठ र स्वास्थ्यमन्त्री उपेन्द्र यादव सँगै पढेका साथी पनि हुन् ।

रजिष्टार श्रेष्ठले स्वास्थ्यमन्त्रीसँगको व्यक्तिगत सम्बन्धका आधारमा प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई बर्खास्त गर्न दबाब दिएका थिए । रजिष्टार श्रेष्ठले आफूलाई प्रधानमन्त्रीको नजिकको मान्छे भन्दै चिनाउने गरेका छन् । उनले पूर्व एमाले तथा नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका माध्यमबाट प्रधानमन्त्रीलाई उपकुलपति रौनियारलाई बर्खास्त गर्न दबाब दिएका थिए ।

तर, प्रधानमन्त्रीले त्यस विषयमा चासो नदिएपछि स्वास्थ्यमन्त्रीमार्फत् उनले जसरी पनि बर्खास्त गर्न गुहार मागेका थिए । उनले उपकुलपति रौनियार भ्रष्ट र असक्षम भएको भन्ने आरोप लगाए । उपकुलपति रौनियार निकटका व्यक्तिहरू भन्छन्, ‘रौनियारले कहाँ भ्रष्टाचार गरेका छन् भन्ने ठोस आधार कतै छैन । प्रमाणित पनि भएको छैन । त्यसैले प्रधानमन्त्री र मन्त्रीलाई अनावश्वक आरोप लगाएर बेबकुफ बनाउने काम भएको छ ।’

स्वास्थ्य मन्त्रालयका एक उप सचिवका अनुसार रौनियारले भ्रष्टाचार गरेको प्रमाण भेटिए स्वतः कारबाहीमा पर्छन् । अप्रमाणित आरोप लगाएर बर्खास्त गर्न सिफारिश गर्ने निर्णय गर्नु नै स्वास्थ्यमन्त्रीको भूल हो ।

‘व्यक्तिगत सम्बन्ध र स्वार्थका आधारमा काम गर्दा अपरिपक्व भइन्छ, अहिले प्रतिष्ठानका उपकुलपति बर्खास्त गर्न गरिएको सिफारिश पनि अपरिपक्व छ’, उनले भने, ‘स्वास्थ्यमन्त्रीले स्पष्टीकरण सोध्ने र चित्त नबुझे कारबाही गर्ने कदम चाल्दा राम्रो हुन्थ्यो ।’

कुनै ठोस आधारबिना उपकुलपति बर्खास्त गर्नु त व्यक्तिगत इगो भएको धेरैको बुझाइ छ । मन्त्रीहरूलाई गलत सूचना दिएर बेबकुफ बनाउने रजिष्टार र रेक्टर दुवै जना प्रतिष्ठानमा भएको अनियमिततामा संलग्न छन् ।

‘रजिष्टार तुलबहादुर श्रेष्ठमाथि त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नै गरिरहेको छ,’ प्रतिष्ठानका एक सिनेट सदस्यले भने, ‘जसमाथि छानबिन भइरहेको छ उसलाई निर्दोष मान्ने अनि जसलाई अप्रमाणित आरोप मात्र लागेको छ उसलाई कारबाही गर्ने कुरा त आफैँमा हास्यास्पद छ ।’

अहिले अख्तियारले जति पनि छानबिन गरिरहेका विषयहरू छन् ती सबै विषयमा रजिष्टार पनि छानबिनकै दायरामा छन् । उपकुलपति रौनियारमाथि २ वटा छानबिन समिति बनेका थिए । केशरबहादुर अधिकारी संयोजक रहेको छानबिन समितिले उपकुलपति रौनियार भन्दा पनि पूर्व उपकुलपति बीपी दासलाई कारबाही गर्न सिफारिश गरेको थियो ।

दोस्रो छानबिन समिति स्वास्थ्यमन्त्री उपेन्द्र यादवकै संयोजकत्वमा गठन भएको थियो । स्वास्थ्यमन्त्रीको संयोजकत्वमा गठन भएको थियो । उपकुलपति रौनियारविरुद्ध नियोजित रूपमा लागेका तथा भ्रष्टाचारको आरोपमा अख्तियारको छानबिनमा रहेका रजिष्टार तुलबहादुर श्रेष्ठ र चाँडै उपकुलपति हुने मौका पर्खेर बसेका हालका रेक्टर डाक्टर गुरु खनाल सदस्य थिए ।

उक्त समितिको वैधानिकतामा प्रश्न उठिरहेकै बेला समितिले प्रतिवेदन तयार पार्यो । प्रतिवेदनमा उपकुलपति रौनियारलाई बर्खास्त नै गर्नुपर्ने ठोस प्रमाण नभेटिए पनि स्वास्थ्यमन्त्रीको आदेश नमानेको र काम गर्न नसकेको भन्ने बुँदा राखेर कारबाही सिफारिश गरिएको थियो ।

जानकारहरूले यसलाई ‘नियोजित प्रतिवेदन’ भनेर टिप्पणी पनि गरेका छन् । ‘प्रतिष्ठानकै एक सिनेट सदस्यका अनुसार उपकुलपति रौनियारले जुन गतिमा काम गर्नुपर्ने हो त्यो काम गर्न नसकेकै हुन् । तर बर्खास्त नै गर्नुपर्ने प्रमाणित आधार भने छैन,’ उनले भने, ‘सिनेटमा जसरी बर्खास्त गर्ने सिफारिश गरिएको छ त्यो पूर्ण र परिपक्व छैन । नियमसङ्गत छैन ।’

बर्खास्तका लागि सिफारिश भएका उपकुलपति रौनियारले भने दादागिरी शैलीमा सिफारिश भएको प्रतिक्रिया सिफारिश भएकै दिन दिएका थिए । उनी अहिले प्रतिष्ठानमा दैनिक कार्य सम्पादन गरिरहेका छन् । उनले आफू बर्खास्तीमा पर्नुको ठोस कारण नै थाहा नभएको बताएका छन् ।