विराटनगरः नोबेल शिक्षण अस्पतालले मुखबाट इण्डोस्कोप छिराएर एकै दिनमा १४ जना बिरामीको पित्त नलीको पथ्थरी निकाली नयाँ रेकर्ड कायम गरेको छ । ईआरसीपी विधिमार्फत् बिनाचिरफार पित्तथैलीको (ढुङ्गा) निकालिएको नोबेल अस्पतालले जनाएको छ ।

एकै दिन हालसम्मकै ठूलो सङ्ख्यामा सफलतापूर्वक ईआरसीपी गरेर नयाँ रेकर्ड कायम गरिएको अस्पतालको दाबी छ । नेपालमै पहिलो पटक एकै दिन यत्ति धेरै बिरामीको ईआरसीपी गरिएको नोबेल अस्पतालका डा. रोहितप्रसाद यादवले बताए ।

यसअघि धुलिखेल अस्पतालले एकै दिन ११ वटा ईआरसीपी गरेको बताइएको छ । त्यसयता नोबेलले यो नयाँ रेकर्ड बनाएको डा. यादवको दावी छ । वीर अस्पतालमा कार्यरत ग्यास्ट्रो इन्टेरोलोजिष्ट डा. विवेककुमार पूर्वेले पनि यो नयाँ रेकर्ड भएको स्वीकार गरे । यसअघि एकै दिन अधिकतम ११ वटा मात्र ईआरसीपीको रेकर्ड रहेको डा. पूर्वेले बताए । ‘एकै दिन १४ जनाको सफलतापूर्वक ईआरसीपी गर्नु नेपालमै पहिलो रेकर्ड हो,’ उनले भने ।

नोबेलले पूर्वी नेपालमै पहिलो पटक गत पुस महिनाबाट ईआरसीपी शुरु गरेको जनाएको छ । ईआरसीपी उपचार पद्धतिमार्फत् मुखबाट ईण्डोस्कोप छिराएर पित्तथैलीको ढुङ्गा सहज रूपमा निकाल्ने गरिन्छ । ढुङ्गालाई मुखबाटै निकाल्ने वा आन्द्रामा लगेर छोडी दिसाको माध्यमबाट बाहिर निकाल्ने गरिन्छ । सामान्यतया पित्तथैलीको ढुङ्गा पेट र पित्त नली दुवै चिरेर निकालिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर ढुङ्गा निकाल्दा धेरै सहज हुने बिरामीहरू बताउँछन् ।

यसअघि पित्तथैलीको ढुङ्गा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो । ल्याप्रोस्कोपिक विधिमा पनि पेटमा प्वाल पारेर पित्तथली चिरेर मात्र ढुङ्गा निकाल्न सकिन्छ । पित्तथैली चिरेर ढुङ्गा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने, सङ्क्रमणको खतरा हुने लगायत समस्या हुन सक्ने चिकित्सक बताउँछन् ।

तर, ईआरसीपी विधिमार्फत् मुखबाट ईण्डोस्कोप छिराई ढुङ्गालाई तानेर निकालिने हुनाले बिरामीलाई खासै असर नगर्ने अस्पतालको भनाइ छ । पित्त नलीमा क्यान्सर वा ढुङ्गा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा प्याङ्क्रियाजको क्यान्सर पत्ता लगाउन पनि यो विधि अत्यन्तै लाभदायी हुने चिकित्सकको भनाइ छ ।

ERCP-Photo-1