धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको अधिकारमा को माथि छ भन्ने अन्योलता रहेकै बेला प्रतिष्ठानका कार्यवाहक उपकुलपति भनिएका रेक्टर गुरु खनाल र रजिष्टार तुलबहादुर श्रेष्ठको उद्दण्डता शुरु भएको छ । उनीहरू स्वास्थ्य मन्त्री उपेन्द्र यादव र प्रधानमन्त्रीको हवाला दिँदै उद्दण्डता मच्चाउन थालेका हुन् ।
रेक्टर खनाल पूर्व माओवादी निकट भएका कारण प्रचण्ड र केही माओवादी नेताको भरमा छन् । रजिष्टार श्रेष्ठ आफूलाई प्रधानमन्त्रीको विश्वासपात्र हुँ भन्ने दाबी गर्दै हिँड्ने गरेका छन् ।
फागुन १७ गते शुक्रबार भएको ४२ औ सिनेट बैठकले प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई बर्खास्त गर्न प्रधानमन्त्री अर्थात् प्रतिष्ठानका कुलपतिसमक्ष सिफारिश गरेको थियो । तर प्रधानमन्त्रीले उक्त सिफारिशलाई सदर गरिसकेका छैनन् ।
कानुनविद्हरूका अनुसार नियुक्ति वा बर्खास्तका लागि सिफारिश हुनु नै अन्तिम निर्णय होइन । जसलाई सिफारिश गरिएको हो उसले सदर वा बदर नगरेसम्म त्यसलाई अन्तिम निर्णय मान्न सकिँदैन । अब प्रधानमन्त्रीले उपकुलपतिलाई बर्खास्त गर्न सिनेटले गरेको सिफारिशलाई सदर नगरेसम्म राजकुमार रौनियार नै प्रतिष्ठानका उपकुलपति भएको वरिष्ठ अधिवक्ता राजु बस्नेतको तर्क छ ।
‘सिफारिशमा जबसम्म कुनै निर्णय हँुदैन तबसम्म त्यसलाई अन्तिम मानिँदैन’, अधिवक्ता बस्नेतले भने, ‘जहाँसम्म प्रतिष्ठानको विषय छ सिफारिश सदर नभएसम्म पद यथावत रहन्छ यो त सामान्य बुझाइकै कुरा हो नि ।’
उपकुलपति बर्खास्त गर्न सङ्गठित रूपमा लागेका रेक्टर खनाल, रजिष्टार श्रेष्ठ, पूर्व उपकुलपति बलभद्रप्रसाद दास र नेकपाका एक स्थानीय नेताले प्रतिष्ठानलाई शक्ति देखाउने थलोको रूपमा प्रयोग गरेका छन् । प्रधानमन्त्रीले सिनेटको निर्णयलाई सदर वा बदर दुबै गर्न सक्छन् । तर हालको अवस्थामा प्रधानमन्त्रीले निर्णय सदर गरेर उपकुलपतिलाई त्यसको पत्र नआएसम्म प्राडा राजकुमार रौनियार नै प्रतिष्ठानको उपकुलपति हुन् । उता, सिनेटले कार्यवाहक उपकुलपति नियुक्ति गरेको भन्दै बधाई थापिरहेका रेक्टर गुरु खनाललाई सिनेटले लिखित रूपमा कार्यवाहक उपकुलपति भनेर नतोकेको खुलासा भएको छ ।
उनलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मौखिक रूपमा कार्यबहाक चलाउनु भनेका थिए । प्रतिष्ठान स्रोतका अनुसार सिनेट बैठक सकिनासाथ रेक्टर खनालले प्रतिष्ठानस्थित सामान्य प्रशासन महाशाखाका म्यानेजर नारद चापागाईंलाई फोन गरेर ‘म भिसी भइसकेँ । पुरानो भीसीको अफिसमा चाबी लगाएर मेरो टेबल र भीसीको सचिवालयमा राख्नू’ भनेर निर्देशन दिएका थिए ।
उनकै निर्देशनमा उपकुलपतिको कार्यकक्षमा ताला पनि लगाइएको थियो । ‘हाम्रो बुझाइमा पनि प्राडा राजकुमार रौनियारलाई उपकुलपतिबाट बर्खास्त गरिएको होइन । त्यसका लागि सिफारिश गरिएको हो । तर यहाँ बर्खास्त नै भयो भनेर रेक्टर र रजिष्टारको फोन आएको थियो,’ प्रतिष्ठान व्यवस्थापनका उच्च कर्मचारीले भने ।
‘सिफारिश सदर नभएसम्म रौनियार नै भीसी हुन् भन्ने हाम्रो बुझाइ छ । तर आफू कार्यवाहक भीसी भएको भन्दै आउनुभएका गुरु सर र उहाँको टिमको उद्दण्डताले प्रतिष्ठानको भविष्यलाई सुखद लक्षण दिँदैन’, उनले भने ।
शनिबार मात्र प्रतिष्ठानका रजिष्टार श्रेष्ठले प्रतिष्ठानको सामान्य प्रशासन शाखाका अधिकृत अशोक साहलाई फोन गरेर उपकुलपति रौनियारको गाडी नचलाउन र निर्देशन दिएका थिए । प्रतिष्ठानको अर्को सूचना स्रोत भन्छ, ‘रेक्टर र रजिष्टारको उद्दण्डता स्पस्ट देख्न सकिन्छ । उनीहरूका कारण अन्य कर्मचारीलाई अन्योल भइरहेको छ ।’
प्रतिष्ठानका कर्मचारीले दिएको जानकारी अनुसार आइतबार बिहान उपकुलपति राजकुमार रौनियार प्रतिष्ठानस्थित आफ्नो कार्यकक्षमा गए । रेक्टर गुरु खनालले रौनियारलाई डोमिनेटेड तरिकाले ‘आइ एम भीसी अफ बीपीकेआइएचएस’ भन्दै कार्यकक्षमा नजान भनेका थिए । तर रौनियारले ‘आइ एम स्टिल भीसी अफ बीपीकेआइएचएस’ भन्दै आफ्नो पदीय हैसियत नभुल्न आग्रह गरेका थिए ।
उनले कर्मचारीलाई ताला खोल्न लगाएर साँझ ५ बजेसम्म कार्यालयमा बसेर कार्य सम्पादन गरे । ‘मलाई उपकुलपतिबाट हटाइयो भन्ने पत्र मैले प्राप्त गरेको छैन । जुन दिन मलाई लिखित रूपमा उपकुलपति पदमा नरहेको जानकारी आउँदैन तबसम्म मैले आफ्नो मर्यादा र जिम्मेवारीलाई बोध गर्नुपर्छ,’ रौनियारले भने ।
‘प्रतिष्ठानको सिनेट कसरी सञ्चालन गर्ने भन्ने व्यवस्था हुन्छ । त्यही व्यवस्था अनुसार सिनेट बैठक हुनुपर्छ,’ रौनियारले भने, ‘जुन सिनेट बैठकमा मलाई बर्खास्त गर्न सिफारिश गरियो भनिएको छ त्यो बैठक आफँैमा नियमविपरीत छ । यो विषयलाई पनि प्रधानमन्त्रीज्यूले ध्यान दिनुहुन्छ होला ।’
व्यक्तिगत अक्षेपका भरमा उपकुलपति बर्खास्त गर्न मिल्ने प्रतिष्ठानको कुनै ऐन नियममा नरहेको उनको भनाइ छ । ‘प्रतिष्ठानको नियम विपरीत काम गर्दा मैले सजाय भोग्नुपर्छ, म तयार छु । तर मेरो ठोस गल्ती के हो भन्ने प्रमाणित नै नभई मलाई दोषी करार गर्न खोजिएको घटनाले नै कुन आयले काम भइरहेको छ भन्ने बुझ्न कठिन हुँदैन’, रौनियारले भने ।
आफूलाई प्रशासनिक रूपमा असहयोग गरेर फेलियर बनाउन खोजिएको रौनियारले बताए । समाचार स्रोतका अनुसार रेक्टर गुरु खनाल भिसी भएर रजिष्टार तुलबहादुर श्रेष्ठले पुनः दोस्रो कार्यकालका लागि रजिष्टार हुन खोजिरहेका छन् ।
‘प्रतिष्ठान कसैको पावर सो गर्ने ठाउँ होइन । यो डाक्टर उत्पादन गर्ने, रिसर्च र उपचार गर्ने ठाउँ हो । नेपालको गौरव र धरानको सम्पत्ति हो’, धरान १८ का वडाध्यक्ष प्रविन राईले भने । कर्मचारीहरूका अनुसार रेक्टर र रजिष्टारको यस्तै उद्दण्डता रहने हो भने प्रतिष्ठान सडकमा आउन सक्छ ।
‘हामी कर्मचारी धेरै बोल्न मिल्दैन तर प्रतिष्ठान शक्तिको कुस्ती खेल्ने ठाउँको रूपमा प्रयोग हुनु हँुदैन । धरानवासीले यसमा सोच्ने बेला आएको छ’, एक कर्मचारीले भने ।