पाँचथरः याङवरक गाउँपालिकाको सहयोगमा पाँचथरको थर्पुमा आयोजित स्वास्थ्य शिविरमा ६ सय ४९ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।

बाँस्कोटा समाज नेपाल केन्द्रीय समिति र जिल्ला कार्यसमिति पाँचथरले शनिबार आयोजना गरेको उक्त स्वास्थ्य शिविरमा पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिका तथा ताप्लेजुङको पाथीभरा याङवरक र सिदिङ्वा गाउँपालिकाका स्थानीयवासीले सेवा लिएका हुन् ।

निःशुल्क स्वास्थ्य परीक्षण शिविरलाई बी एण्ड सी अस्पताल बिर्तामोड तथा समर्पित अस्पताल फिदिमले प्राविधिक सहयोग गरेको समाजका कोषाध्यक्ष रामप्रसाद बाँस्कोटाले बताए ।

उक्त शिविरमा स्त्री रोग विशेषज्ञ डा. सुनिल शाह र सङ्गीता राई तथा सर्जन डा. वासुदेव बाँस्कोटा, छाला तथा यौन रोग विशेषज्ञ डा. रवीन्द्र बाँस्कोटा र फिजिसियन डा. उमेश ढुङ्गाना तथा डा. राजेन्द्र श्रेष्ठले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

यस्तै बाल रोग विशेषज्ञ डा रुपक आचार्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा राजीवकुमार शाह, नाक, कान, घाँटी रोग विशेषज्ञ डा धर्मकान्त बाँस्कोटा र रोडियोलोजिस्ट डा सुमनकुमार श्रेष्ठ लगायतले बिरामीको स्वास्थ्य परीक्षण गरी परामर्श दिएका थिए । उक्त स्वास्थ्य शिविरमा भिडियो एक्स–रे, इसिजी र ल्याब सेवासमेत निःशुल्क सञ्चालन गरिएको थियो ।

स्वास्थ्य परीक्षण शिविरको उद्घाटन गर्दै याङवरक गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरेले दुर्गम ग्रामीण क्षेत्रका लागि यस प्रकारका शिविर आवश्यक रहेको बताउँदै यस्ता कार्यमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताए ।