भोजपुरः भोजपुरको रामप्रसाद राई गाउँपालिका –१ ओख्रेमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ग्रामीण भेगका ६ सय ४३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
शिविरमा ३ सय २६ जना महिलाको आङ खस्ने तथा पाठेघरसम्बन्धी समस्याकोे स्वास्थ्य जाँच गरिएको छ ।
शिविरमा परीक्षणका लागि आएकामध्ये ८ जनाको पूर्ण रूपमा पाठेघर खसेकाले अप्रेशन गर्नुपर्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । त्यस्तै १३ जनामा पाठेघरको क्यान्सरको सम्भावना देखिएकाले उनीहरूको निःशुल्क उपचारको लागि काठमाडौ लैजान सिफारिश गरिएको छ ।
त्यसैगरी नाक, कान, घाँटी, बाथ, मधुमेह लगायत रोगका ३ सय १७ जनाको स्वास्थ्य जाँच गरिएको ओख्रे स्वास्थ चौकीका अहेब नगेन्द्र चौधरीले बताए । डाक्टरहरू एन्जिला बस्नेत, आशिष बस्नेत, जिल्ला अस्पताल भोजपुरका डाक्टर पवित्रा श्रेष्ठ लगायतका स्वास्थ्यकर्मीले बिरामीको जाँच गरेका थिए ।
सङ्घीय सांसद सुदन किरातीको पहलमा सञ्चालन गरिएको सो शिविरमा सामुदायिक स्वास्थ्य सेवा प्रतिष्ठान भक्तपुरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।