इटहरीः मोरङको सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँमा रहेका ३ वटा संस्थाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर भइरहेको छ ।
घरआँगन बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस भजनकीर्तन समूह र सामाजिक सेवाका लागि युवा अभियान (वाइएसएस) नेपालको संयुक्त आयोजनामा शिविर सञ्चालन भइरहेको हो । शिविरमा नवदृष्टि आइ हस्पिटल इटहरीले प्राविधिक सहयोग गरिरहेको आयोजकले जनाएको छ ।
दिउँसो २ बजेसम्ममा १ सय जनाभन्दा बढीको आँखा जाँच गरिसकिएको आयोजकले जनाएको छ ।
शिविर उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले आँखा परीक्षण मेशीन डाक्टरलाई प्रदान गरेर शिविरको उद्घाटन गरेकी थिइन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले आँखाजस्तो संवेदनशील अङ्गको समस्यामा महत्वपूर्ण ध्यान दिनुपर्ने बताइन् ।
कार्यक्रमलाई सुन्दरहरैंचाको वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला, अस्पतालका प्रतिनिधि डा. विजय गौतमलगायतले सम्बोधन गरेका थिए ।