बेलबारीः विद्यार्थीमाथ जनचेतना जगाउन ‘प्रहरी साझेदारी’ नाम दिएर प्रहरीले विद्यार्थीलाई पढाउन थालेको छ । महिला हिंसा, बाल दुव्र्यवहार, मानव बेचबिखन लगायतका विषयमा प्रहरीले विद्यालयमा पुगेर विद्यार्थीलाई जानकारी दिइरहेको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका– ३ स्थित कालिका माध्यमिक विद्यालयमा इलाका प्रहरी कार्यालय उर्लाबारीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई पढाएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले अपराध पहिचान तथा रोकथामका उपाय र व्यक्तिगत जिम्मेवारीको विषयमा चेतना दिइरहेको बताए । लैङ्गिक हिंसा, बाल दुव्र्यवहार र मानव बेचबिखन, आधारभूत सुरक्षा, मादक पदार्थ र लागूपदार्थ दुव्र्यसनी, प्रहरीलाई खबर गर्ने अवस्था र १०० नम्बरको प्रयोगका विषयमा विद्यार्थीलाई जानकारी दिएको उनले बताए ।

उनले केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढिरहेको र यसको नियन्त्रणको भूमिकाका लागि विद्यार्थीहरूलाई सिकाएको उनले बताए ।

नगरपालिकाले गठन गरेका टोल विकास समिति, महिला समूहलगायत विभिन्न समूहमा गएर प्रहरीले साझेदारी कार्यक्रम गर्ने गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए । उनले जनतासँगको सम्बन्ध सुधारका लागि टोलटोलमा गएर छलफल गर्ने गरेको बताए ।

प्रहरीले विद्यार्थीलाई भिडियोसमेत देखाउने गरेको छ । प्रदेश नं. १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालले समुदाय– प्रहरी साझेदारी कार्यक्रमले समुदाय र टोलटोलमा कार्यक्रम गर्ने गरेको बताए ।

टोलटोलमा आएर प्रहरीले नागरिकसँगको सम्बन्ध सुधारका लागि टोलटोलमा आएर छलफल गर्ने गरेको सुन्दर टोल विकास संस्थाका अध्यक्ष अर्जुन राईले बताए । उनले प्रहरीकै सक्रियतामा आफ्नो टोलमा मदिरा तथा सूर्तीजन्य पदार्थ किनबेचमा रोक लगाउन सफल भएको बताए ।

ट्राफिक प्रहरीले समेत विद्यार्थीलाई ट्राफिक नियमको बारेमा जानकारी गराइरहेको छ ।