विराटनगरः खाना पकाउने क्रममा कुपी बत्तीको मट्टीतेल खनिएर शरीरमा आगो लाग्दा मोरङको बेलबारी–२ लालभित्तीकी ५० वर्षीया कुमारी ऋषिदेवको आधा शरीर जल्यो ।
अनुहारसहित शरीरको धेरै भाग जलेकी कुमारीलाई जलनको पीडा त छँदैथियो उपचारको लागि खर्चको अभाव पनि उत्तिकै थियो । उपचार गर्न नसकेर तड्पिइरहेको ऋषिदेव परिवारको पीडा नोबेल अस्पताल सञ्चालक डा. सुनिल शर्माले थाहा पाए । त्यसपछि कुमारीको घरैमा पुगी कुमारीलाई निःशुल्क उपचारका लागि नोबेल अस्पताल ल्याए ।
कुमारीको अनुहार, घाँटी, छाती, हात लगायतका भाग आगोले जलेको छ । कम्मरभन्दा माथिको अधिकांश भाग जलेकी कुमारीलाई शुरुमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि त्यहाँ सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं रिफर गरियो । तर, पैसा नभएका कारण काठमाडौं लैजान नसकेर उपचार नै नगरी घर ल्याएर राख्नुपरेको श्रीमान् पनिलाल ऋषिदेवले बताए ।
‘अलिअलि भएको पैसा घोपामै सकियो । उपचार गर्न नसकेपछि केही सीप नलागेर जे होला–होला भनेर घर ल्याएँ,’ पीडा सुनाउँदै उनले भने, ‘धन्न सुनिल सर आएर ठूलो गुन लगाउनुभयो ।’
स्थानीय राजकुमार लिम्बूले घटनाको बारेमा बताएपछि डा.शर्माले डाक्टर र नर्सको टोली तत्काल ऋषिदेवको घरमा पठाएर सामान्य उपचार गराएका थिए । त्यसपछि एम्बुलेन्स लिएर घरैमा पुगेका डा. शर्माले उनलाई निःशुल्क उपचारका लागि नोबेल अस्पताल लगे । नोबेलमा निःशुल्क औषधि, उपचारसहित बिरामी र कुरुवालाई समेत खानाको व्यवस्था पनि डा. शर्माले नै मिलाइदिए । नोबेल अस्पतालमा उनको उपचार पश्चात प्लाष्टिक सर्जरीका लागि डा. शर्माले नै एम्बुलेन्सको खर्च बेहोरेर काठमाडौं पठाएका छन् । काठमाडौंमा उपचारका लागि डा. शर्माले १ लाख रकमसमेत प्रदान गरेका छन् ।
खोला किनारमा बालुवा चालेर जीविका चलाउँदै आएका उनीहरूको आफ्नो नाममा एक धुर पनि जमिन छैन । उनीहरूको अत्यन्तै दयनीय अवस्था थाहा पाएर उपचारमा सहयोग गरेको डा. शर्माको भनाइ छ ।