पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा चलिरहेको हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यको छैटौँ दिन सम्ममा ३८ हजार ४ सय २७ जनाले औषधी सेवन गरेका छन् ।

नगरपालिकाका प्रमुख दिलीपकुमार राईको विशेष सक्रियतामा थालिएको सो अभियानको पूर्व घोषित कार्यक्रम अन्तर्गत आज औषधी खुवाइने अन्तिम दिन हो ।

अभियान अन्तर्गत विद्यार्थीलक्षित कार्यक्रममा छुटेका विद्यालयमा मङ्गलबार पुनः अभियान सञ्चालन गरी औषधी खुवाउने कार्यक्रम रहेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए ।

कुल ८० हजार ५ जना जनसङ्ख्या रहेको नगरपालिकामा कम्तीमा ६० हजार जनसङ्ख्या यो औषधी सेवन गर्ने उमेर समूहको रहेको आचार्यको भनाइ रहेको छ ।

तर अभियानको अन्तिम दिन आइसक्दा पनि लगभग अनुमानित जनसङ्ख्याको आधा सङ्ख्याले मात्र औषधी सेवन गरेको पाइएकोले यो अभियानलाई थप निरन्तरता दिएर अगाडि बढाउँदै लैजाने योजना रहेको आचार्यले बताए ।

फागुन १५ देखि थालिएको अभियानमा औषधी खानेको उत्साह बढ्दो क्रममा रहेको आचार्यको भनाइ रहेको छ ।

२ वर्ष माथिकालाई औषधि सेवन गराउने अभियान उत्साहपूर्वक सञ्चालन भएकाले सबैलाई औषधी खान र अरुलाई पनि खुवाउने अभियानमा सहभागि हुन नगर प्रमुख राईको अनुरोध छ ।

सोमबारको घरदैलो अभियानलाई सफल र प्रभावकारी बनाउन स्वास्थ्य संयोजक आचार्य र वडाध्यक्ष जयबहादुर तामाङ आफैँ घर–घरमा पुगेर सर्वसाधारणलाई औषधी सेवन पछिको लाभको बारेमा जानकारी गराएका थिए ।

hattipaile pathari  (2) hattipaile pathari  (3)