सोलुखुम्बुः दूधकोशी सामुदायिक अस्पताल निर्माणका लागि हालसम्म रु १ करोड १५ लाख सहयोग सङ्कलन भएको छ । अस्पताल निर्माणका लागि चैत २ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरी गाउँपालिकाले रु २० करोड रकम सङ्कलन गर्ने लक्ष्य लिएको जनाएको छ ।
९ वटा वडा रहेको गाउँपालिकाले प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा महायज्ञ आयोजक उपसमिति गठन गरी आर्थिक सङ्कलनको काम भइरहेको बताएको छ । यस्तै विभिन्न देशबाट रु ५० हजारदेखि रु एक लाखभन्दा बढीको सहयोग आइरहेको बताइएको छ ।
जिल्लामा क्रियाशील सम्पूर्ण सामाजिक सङ्घसंस्थाका अभियन्ताले समेत सो कार्यको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लास्थित एक नगरपालिकासहित ७ वटा स्थानीय तहले ५–५ लाख रुपैयाँ सहयोग गरेका छन् ।