झापाः बाथ रोगीलाई लक्षित गरेर शनिबार झापाको काँकरभिट्टामा एकदिने निःशुल्क बाथ रोग शिविर सम्पन्न भएको छ । ‘तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता’ भन्ने मुख्य नारासहित मखमली बचत तथा ऋण सहकारी संस्था मेचीनगर—६ द्वारा सञ्चालित मखमली फिजियोथेरापी क्लिनिकले आयोजना गरेको शिविरमा ५६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

नेशनल बाथ उपचार केन्द्र बिर्तामोड झापाको प्राविधिक सहयोगमा क्लिनिक परिसरमा सम्पन्न शिविरमा बाथ रोगसहित कुम, गर्दन, कुहिना, ढाड, घुँडा, कुरकुचा दुख्ने समस्यालगायत नशा च्यापिएको, मुख बाङ्गिएको प्यारालाइसिस तथा हातखुट्टा झमझमाउने समस्याका बिरामीको उपचार भएको थियो ।

शिविरमा फिजियोथेरापिष्ट डाक्टर आस्ना महर्जनले सेवा प्रदान गरेकी थिइन् । मखमली बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष राधा प्रधान कार्कीको सभापतित्वमा शिविर सम्पन्न भएको थियो ।