विराटनगरः विद्यार्थीहरूलाई धर्म, संस्कृति तथा नैतिक शिक्षाको जानकारी गराउने उद्देश्यका साथ स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०७५ सम्पन्न भएको छ ।

स्वामी विवेकानन्दको ‘आदर्श विद्यार्थी, आदर्श नागरिक’भन्ने उद्दघोषलाई आत्मसात गर्दै स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा लिइएको बताइएको छ ।

सो परीक्षामा आदर्श उच्च माविकी प्रियंका झा पहिलो, मनकामना स्कुलका प्रशान्तकुमार यादव दोस्रो र बुढीगंगा पब्लिक स्कुलका दर्शन गौतम तेस्रो भए । पहिलो हुनेलाई न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको तर्फबाट ३१ हजार, दोस्रो हुनेलाई उद्योग सङ्गठन मोरङबाट २१ हजार र तेस्रो हुनेलाई ११ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, सान्त्वना पुरस्कार प्रप्त गर्ने १० जनाले प्रमाणपत्रसहित सम्मान पाएका थिए ।

यता, आफ्नो धर्म, संस्कार र परम्पराबारे विद्यार्थीलाई परिचित गराउन यस्तो परीक्षा आयोजना गरिएको र यसलाई निरन्तरता दिइने आयोजक हिन्दू स्वयम्सेवक सङ्घका महेन्द्र साहले बताए ।

न्युरो अस्पतालका संस्थापक तथा वरिष्ठ न्युरोलोजिस्ट डाक्टर वीरेन्द्रकुमार विष्टले धर्म र संस्कृतिको रक्षाबाट मात्र समाज र राष्ट्र विकसित हुन सक्छ भन्दै स्वामी विवेकानन्दको ज्ञानले आफ्नो जीवनमा ठूलो प्रभाव परेको बताए ।