झापाः झापाको मेचीनगर—६ काँकरभिट्टाकी २६ वर्षीया निर्मला राईको उपचारका लागि आर्थिक सहयोग गरिदिन स्वर्गीय गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित संस्था बिर्तामोडले आग्रह गरेको छ ।

छालामा लाग्ने एसएलई रोगबाट थलिएकी निर्मलाको घरमा संस्थाले पत्रकार सम्मेलन गरी उपचारका लागि आर्थिक सहयोग गरिदिन संस्थाका अध्यक्ष भुपाल बस्नेतले आग्रह गरेका छन् ।

११ महिना अघिदेखि रोगले थलिएकी निर्मलाको उपचारमा अहिलेसम्म ५ लाख रुपैयाँ खर्च भइसकेको र अझै त्यति नै रकम चाहिने बताइएको छ । निर्मलाको आर्थिक अवस्था कमजोर भएका कारण संस्थाले उनको उपचारका लागि आर्थिक सङ्कलन अभियान शुरु गर्ने अध्यक्ष बस्नेतले बताए ।

हरेक १५÷१५ दिनमा उपचारका लागि निर्मलाले अस्पताल जानुपर्ने बाध्यता छ । चिकित्सकले शुरुमा मुटुमा समेत असर देखेर पानी निकालेको निर्मलाको भनाइ छ । उनका श्रीमान् रोजगारीका लागि भारतको मुम्बइमा छन् । चिकित्सकका अनुसार यो छालामा लाग्ने वंशाणुगत रोग भएकाले यसको उपचार लामो समयसम्म गर्नुपर्ने हुन्छ ।