धरानः धरान–१० स्थित युएन स्कुलमा विज्ञान प्रदर्शनी आयोजना भएको छ । विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले आयोजना भएको प्रदर्शनीमा अभिभावक, विद्यार्थीले अवलोकन गरेका छन् ।
स्कुल प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीको धरान–१० का वडाध्यक्ष श्रीप्रसाद लिम्बूले रिवन काटेर उद्घाटन गरेका थिए । शुक्रबार विद्यार्थीद्वारा निर्मित विज्ञान तथा कला प्रदर्शनीमा आयोजना भएको हो । कार्यक्रममा युएन कलेजका अध्यक्ष ज्ञानेश्वर झा, युएन कलेजका प्रमुख डम्बरकुमार तुम्बापो, युएन कलेजका होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठ, अध्यापक सुमन बाँस्तोलालगायतको उपस्थिति थियो ।
प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित आकर्षक घण्टाघर, बोटानिकल गार्डेन, रोबोट, विज्ञानसम्बन्धी विभिन्न सामग्री, खेती किसान र घरमा आवश्यक विभिन्न सामग्री साथै परम्परागत सामग्री हेरेर अभिभावक, विद्यार्थी मख्ख परे । कतिपय विद्यार्थीले सेल्फी समेत हान्न भ्याएका थिए ।
प्रदर्शनीमा राखिएकामध्ये बोटानिकल गार्डेन, धरहरा, घण्टाघर दर्शकले निकै मन पराएको विद्यालयका प्रिन्सिपल स्वर्ण सम्वाहाम्फले जानकारी दिए । कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीले निर्माण गरेका विभिन्न सिर्जनाका करिब ३५ भन्दा बढी स्टल राखिएका थिए । स्कुलका अध्यक्ष डम्बरकुमार तुम्बापोले यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता विकास हुनुका साथै प्रतिभा समेत प्रदर्शन हुने बताए । ‘यस्ता कार्यक्रमले विद्यार्थीको ज्ञान बढ्छ, यसले विद्यार्थीलाई सैद्धान्तिक मात्रै होइन व्यवहारिक बनाउन पनि मद्दत गर्छ,’ उनले थपे, ‘विद्यार्थीको मनोभावना बुझेर नै यो कार्यक्रम आयोजना भएको हो ।’
स्कुलका प्रिन्सिपल सम्वाहाम्फेले सैद्धान्तिक मात्रै नभएर व्यवहारिक ज्ञान बढाउन, विद्यार्थीले कति सिकेका छन् भन्ने कुरा व्यवहारिकरूपमै देखाउन पनि कार्यक्रम आयोजना गरिएको बताए । ‘विद्यार्थीले माग, समयअनुसार सिक्नुपर्छ, प्रतिस्पर्धा गर्न सक्नुपर्छ भनेर नै यस्तो कार्यक्रम आयोजना गरेका हौं ।’ उनले भने ।
प्रदर्शनीमा धरानका अन्य विद्यालयको पनि सहभागिता रहेको थियो । धरान–११ स्थित नोवेल एकेडेमी, धरान–१५ स्थित ज्ञानोदय सेकेण्डरी बोर्डिङ स्कुल लगायत आधा दर्जन बढी विद्यालयको सहभागिता थियो । पछिल्लो समय हरेक क्षेत्रमा विज्ञानको सिकाइ आवश्यक रहेकाले सबै विद्यार्थीलाई त्यसतर्फ लाग्न विद्यालयले प्रेरित गरेको विद्यालयका प्रिन्सिपल सम्वाहाम्फेले बताए । उनले सांस्कृतिक कार्यक्रम भन्दा पनि प्रयोगात्मक विज्ञान प्रदर्शनीले विद्यार्थीको क्षमता बढाएको बताए । उनले सिकेको ज्ञानलाई प्रयोगमा ल्याउन विद्यार्थी सफल भएको दावी गरे ।