सङ्खुवासभाः पाँचखपन नगरपालिका वडा नं ८ की एक वर्षीया बालिका समीक्षा तामाङलाई निमोनिया भएपछि उनका परिवारले जिल्ला अस्पताल खाँदबारी ल्याइपुर्याए ।
अस्पताल ल्याएर सामान्य उपचारपछि त्यहाँका स्वास्थ्यकर्मीले खाँदबारी अस्पतालमा उपचार सम्भव नभएको सुनाए । उपचार सम्भव नभएपछि स्वास्थ्यकर्मीले अन्य अस्पतालमा जान रेफर गरिदिए ।
रेफरको कागज हातमा समाएपछि उनका बुवा र आमालाई खटपटी शुरु भयो । खटपटी शुरु हुनुको मुख्य कारण थियो, पैसा । आर्थिक अवस्था कमजोर भएपछि बिरामी बच्चालाई एम्बुलेन्समा हालेर शहर लैजाने पैसा उनीहरूसँग थिएन । बिरामी बच्चाकी आमा करिष्मा तामाङले भनिन्, ‘हामीसँग पैसा छैन कसरी लैजानु धरान वा अन्य ठूलो ठाउँ ?’
त्यसैबेला पाँचखपन नगरपालिकाका नगर प्रमुख विपिन राई पनि अस्पताल आइपुगे । जिल्ला अस्पताल खाँदबारीका स्वास्थ्यकर्मीले मेयर राईलाई बिरामी बच्चालाई सहयोग गरिदिन आग्रह गरे ।
त्यसपश्चात बिरामीको बारेमा उनले सोधखोज गरेपछि मेयर राईलाई दया लागेर आयो, तत्कालै उनले एम्बुलेन्स लगायतको खर्च आफूले बेहोरिदिने बताए । उनले भने, ‘बिरामी देखेपछि मलाई दया लागेर आयो । यो परिवारको आर्थिक अवस्था पनि कमजोर रहेछ । म खर्च बेहोर्छु ।’
आफूसँग आफ्नी छोरीको उपचार गर्नको लागि उपचार खर्च नहुदाँ समस्यामा परेको र त्यस बेलामा मेयर विपिन राई हाम्रो लागि भगवान् साबित भएको भन्दै बालिकाकी आमा करिष्मा तामाङले मेयर राईलाई धन्यवाद दिइन् ।
बालिकालाई निमोनिया भएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ । बच्चालाई राख्नको लागि आइसियुको आवश्यकता पर्ने र जिल्ला अस्पतालमा सम्भव नभएकाले रेफर गर्नुपरेको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल खाँदबारीले सहयोगी मन भएका मेयर राईलाई धन्यवाद दिएको छ । मेयर राईले यस्ता दुःखी, असहाय र गरिबलाई सहयोग गर्नु आफ्नो धर्म भएकाले सहयोग गर्न पाउँदा गौरवान्वित महशुस हुने प्रतिक्रिया दिए ।