पथरीः हात्तीपाइले रोग निदान अभियानको दोस्रो दिनको औषधी खुवाउने अभियानमा नगरका ८ हजार बढीले औषधी सेवन गरेको पथरीशनिश्चरे नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख दिलीपकुमार राईको प्रत्यक्ष सक्रियतामा अभियानलाई सफल बनाई नगरलाई रोगमुक्त बनाउने उद्देश्यका साथ थालिएको ७ दिने अभियानमा नगरको औषधी सेवन गर्ने जनसङख्या लगभग ६० हजार भएको बताइएको छ ।
नगरपालिकाले बुधवार नगरका प्रत्येक वडामा स्वाथ्यकर्मीको उपस्थितिमा केन्द्र नै खडा गरी औषधी सेवन गराएको थियो । बिहीबारदेखि घर दैलो कार्यक्रमको शुरुवात गरेको जनाएको छ ।
विगतमा स्वयम्सेवकको सहायतामा सञ्चालन गरिएको यो अभियान यस वर्ष भने स्वास्थ्यकर्मीको प्रत्यक्ष उपस्थितिमा सञ्चालन गरिएको छ ।
अभियानलाई सफल बनाउन नगरका ५० बढी स्वास्थ्यकर्मी यो अभियानमा परिचालन गरिएको बताइएको छ । जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका व्यक्ति पनि उत्तिकै मात्रामा अभियानलाई सफल बनाउन लागेका छन् ।
अभियानलाई सफल बनाउने क्रममा नगरपालिकाको वडा नम्वर ६ मा स्वास्थ्यकर्मी र जन–प्रतिनिधिको संलग्नतामा दोस्रो दिनको घर–दैलो कार्यक्रममा ४ सय ६९ जनालाई रोग विरुद्घको औषधी सेवन गराइएको स्वास्थ्यकर्मी रिजु खड्काले बताइन् ।
घरदैलो अभियानमा ७ सय ३४ जना प्रत्यक्ष समपर्कमा आए पनि अन्य व्यक्तिमा विभिन्न दीर्घरोग भेटिएको उनले बताइन् ।
औषधी खुवाउने क्रममा वडा नम्वर ६ का वडाध्यक्ष जयबहादुर तामाङले स्थानीय शान्ति चौककी सुगर रोगी गोमा थापालाई परामर्श गरी आफ्नै उपस्थितिमा औषधी सेवन कार्यमा सहभागी गराएका थिए ।
औषधी सेवन पश्चात कसैकसैलाई वाकवाकी लाग्ने, रिँगटा लाग्ने, भएकाले यो औषधी सेवन गर्नुहुन्न भन्ने गलत बुझाइलाई चिर्न वडाध्यक्ष तामाङ लागेका छन् ।
औषधी सेवन गर्दा कसैलाई वाकवाकी लाग्ने, रिँगटा लाग्ने जस्ता लक्षण देखा पर्न सक्ने भएको तर त्यस्ता लक्षण देखिँदा नआत्तिन नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले आग्रह गरेका छन् ।
यस्ता लक्षणहरु देखा परे आफ्नो शरीरमा पनि रोगको परजीवी रहेछ अब नष्ट हुने भयो भनेर खुशी हुन उनले आग्रह गरेका छन् ।