बेलबारीः दुवै मृगौलाले काम नगरेर नियमित रुपमा उपचार गराइरहेकी बेलबारी–४ की सरस्वती गुरुङको उपचारका लागि समिति बनेसँगै देशविदेशबाट रकम सङ्कलन हुने क्रम जारी छ ।
१३ महिना अघिदेखि दुवै मृगौलाले काम नगरेर थला परिरहेको थाहा पाएपछि स्थानीय उनको उपचारमा एकजुट भएका थिए ।
एक सन्तानकी आमा ३१ वर्षीया गुरुङको परिवारको आर्थिक अवस्था कमजोर भएकाले परिवारको एक्लो प्रयासले उपचार सम्भव नभएपछि आफूहरू उनको उपचारमा सहयोग जुटाउन लागिरहेको स्थानीय बताउँछन् ।
अहिले उनको उपचारको लागि सहयोग रकम जुटाउन स्थानीय मनकुमार गुरुङको संयोजकत्वमा सरस्वती गुरुङ बचाउ अभियान नै सञ्चालन गरिएको छ । अभियान सञ्चालन भएयता उनलाई सहयोग गर्नेको सङ्ख्या बढिरहेको छ ।
सरस्वती गुरुङ बचाऔँ अभियान संयोजक मनकुमारले केही दिन अघि ४ लाखभन्दा बढी रकम उठिसकेको र उठ्ने क्रम जारी रहेको बताए ।
ड्राइभिङ पेशा गरेर घर खर्च धानिरहेका सरस्वतीका श्रीमान् मनबहादुर गुरुङ जसरी पनि आफ्नी श्रीमतीलाई बचाउन लागिपरेका छन् । तर दुवै मृगौला फेर्न झण्डै ३० लाखको हाराहारीमा रकम लाग्ने भएपछि कसरी यतिधेरै रकम जुटाउने भन्नेमा छन् । देशविदेशबाट सहयोग आइरहेकाले उनी निराश भने छैनन् ।
बिहीबार धरानमा भएका सरस्वतीका आफन्तले उठाएर पठाएको ८८ हजार ८० रुपैयाँ र धरान–१५ घर भई रोजगारीको सिलसिलामा हाल कोरियामा रहेको सुगम भुजेलले पठाएको २६ हजार गुरुङ परिवारलाई हस्तान्तरण गरिएको छ ।
सहयोग रकम परिवारलाई हस्तान्तरण गर्दै सुगमकी श्रीमती तारा भुजेलले सानो रकम भए पनि सरस्वतीलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताइन् । साथै उनले अरुलाई पनि सहयोग गर्न आग्रह गरिन् ।
केही दिन अघि मात्र समितिले बेलबारी १ स्थित तमु बुद्धिष्ट गुम्बामा पत्रकार सम्मेलन गरेर सरस्वती बचाऊ अभियानमा सबैलाई लाग्न आग्रह गरेको थियो ।
पत्रकार सम्मेलनकै दिन बेलबारी–१ निवासी मोहन गुरुङको नेतृत्वमा ७५ हजार ३ सय रुपैयाँ सङ्कलन गरिएको थियो । त्यस्तै, कोशी नेपाल टिभीबाट १० हजार रुपैयाँ उपचारार्थ प्रदान गरिएको थियो ।
बुधबार बेलबारी–४ का विभिन्न ५ वटा टोलबाट उठेको १ लाख ५२ हजार ६ सय ३५ रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको थियो ।