इटहरीः. भानु कला केन्द्र विराटनगरले आयोजना गरेको एक नम्बर प्रदेश स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि इटहरीको मकालु मकालु सेकेण्डरी बोर्डिङ स्कुलले जित्न सफल भएको छ ।

संस्कृतिविद स्वर्गीय चतुर्भुज आशावादीको ७५ औं जन्मजयन्तीको अवसरमा वीरेन्द्र सभागृहमा आयोजित सो लोक नृत्य रनिङ शिल्ड प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी १८ वटा विद्यालयको सहभागिता थियो ।

राष्ट्रिय सभा सदस्य खेम नेपाली प्रमुख अतिथि र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विशिष्ट अतिथि रहेको सो कार्यक्रम आशावादीकी धर्मपत्नी माया पौडेल आशावादीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा होली बेल बोर्डिङ स्कुल धुलाबारी दोस्रो र मोर्डन एरा विद्यालय विराटनगरले तेस्रो स्थान प्राप्त गरे । दुई वर्ष लगातर विजेता बनेर मकालुले पहिलो पटक सो रनिङ शिल्ड आफ्नो हात पारेको आयोजक समितिका मनोज राजवंशीले बताए ।