बेलबारीः आजदेखि मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन थालिएको छ । मोरङमा आठाँै पटक औषधी खुवाइएको हो ।
सरकारले १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधी निःशुल्क रूपमा खुवाउन शुरु गरेको छ । बुधबारदेखि प्रदेश नम्बर १ का झापा, मोरङ, धनकुटा, पाँचथर र इलाम जिल्लामा हात्तीपाइले विरुद्धको औषधी खुवाइँदैछ ।

मोरङको बेलबारी नगरपालिकामा मेयर ज्ञानेन्द्र सुवेदीले औषधी खाएर अभियानको शुभारम्भ गरेका छन् । अघिल्ला वर्षमा गलत प्रचार भएर धेरैले औषधी नखाएकाले आफैँबाट औषधी सेवन शुरु गरेको सुवेदीले बताए । उनले सबैलाई औषधी खान समेत आग्रह गरे ।

हात्तीपाइले रोगको औषधी २ वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी, मुटु रोगी, क्यान्सरका बिरामी, मृगौला रोगी, छारेरोग भएका व्यक्तिले सेवन गर्न नहुने स्वास्थयकर्मीले बताएका छन् ।

२ सातासम्म सञ्चालन हुने औषधी सेवन कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयम्सेवकले नजिकको स्वास्थ्य सेन्टर र घर–घरमा पुगेर औषधी खुवाउने बताइएको छ । हात्तीपाइले रोगको समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गतासमेत हुने गर्छ ।

बेलबारीका ६६ हजार २ सय ३६ जनालाई औषधी वितरण गर्ने गरी योजना बनाएको स्वास्थ्य संयोजक सन्तोष विश्वकर्माले बताए । नगरपालिकाले सो अभियानमा ५० जना भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरेको जनाएको छ ।