पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ मा २०६४ सालमा स्थापना भएको पथरी बहुमुखी क्याम्पसले प्रोजेक्टर प्रविधिसहित स्नातकोत्तर तहको कक्षा सञ्चालन गरेको छ ।

यस अघि स्नातक तहमा शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी सङ्काय (बिएड, बिबिएस र बिए)को अध्यापन हुँदै आएको थियो ।

शैक्षिक सत्र २०७५÷०७६ बाट पथरी बहुमुखीले शिक्षाशास्त्र सङ्कायको नेपाली विषयको स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि अनुमति पाएको थियो । सेमेस्टार पद्घतिबाट क्याम्पसले फागुन १२ गते देखि नियमित पहिलो सेमेस्टरको कक्षा सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख चेतन पौडेलले बताए ।

आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा पनि अनिवार्य प्रोजेक्टर माध्यमबाट शिक्षण गर्ने व्यवस्थापन भइरहेको पौडेलले बताए ।

आधुनिक प्रविधिको प्रयोगलाई जोड दिएर शिक्षण सिकाइ क्रियाकलाप थालेको क्याम्पसलाई नगरमा मात्र नभएर प्रदेशमै उत्कृष्ट बनाउने क्याम्पस व्यवस्थापन पक्षको भनाइ छ ।

स्नातकोत्तर अनुमति पाएसँगै पथरीशनिश्चरे आसपासका विद्यार्थीले एमएड अध्ययनका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । अन्य क्याम्पसमा भन्दा कम शुल्कमा गुणस्तरीय शिक्षा दिने क्याम्पसले जनाएको छ । यो वर्ष एमएडमा २० जनाको हाराहारीमा विद्यार्थी हुने अनुमान क्याम्पसको छ ।

क्याम्पसलाई पूर्ण प्रविधिमैत्री बनाउन क्याम्पसले विश्व विद्यालय अनुदान आयोगको ६७ प्रतिशत र क्याम्पसको ३३ प्रतिशत लगानीमा ५ वटा प्रोजेक्टरको व्यवस्थापन भइसकेको जनाइएको छ ।

खप्तरी रियल स्टेटका प्रोप्राइटर विजयजङ्ग बस्नेत र पथरी हस्पिटलका सञ्चालक ईश्वरी सापकोटाले ५१ हजार मूल्यबराबरको १÷१ थान प्रोजेक्टर सहयोग गरेको क्याम्पस प्रमुख पौडेलले बताए ।