इटहरीः सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ को पञ्चायत माध्यमिक विद्यालयले महिनावारीको बेला छात्रालाई पढाइमा सहज होस् भनेर सेनेटरी प्याड वितरण गर्न थालेको छ ।
महिनावारी भएको समयमा छात्राहरू विद्यालय नआउने भएकाले प्याड उपलब्ध गराउन थालिएको विद्यालयका प्रधानाध्यापक भीष्मराज महतले बताए । केही दिन विद्यालय नआएपछि त्यत्तिकै पढाइ छाड्ने र विद्यार्थीको सङ्ख्या घट्ने गरेकाले यो कार्यक्रम ल्याएको उनले जानकारी दिए ।
अहिले विद्यार्थी आफँैले कपडाको प्याड बनाउँछन् । विद्यालयले प्याड बनाउने तालीम दिएपछि विद्यार्थी आफैँले प्याड बनाउने गरेको उनको भनाइ छ । विद्यार्थीलाई प्रयोगात्मक परीक्षाको रूपमा प्याड बनाउन लगाउने गरेकाले नम्बर आउने लोभमा विद्यार्थीले जाँगर दिएर प्याड बनाउने गरेको उनले बताए ।
कक्षा १० मा अध्ययनरत छात्रा उर्मिला दाहाल स्कुलले सेनेटरी प्याडको व्यवस्था गरेपछि आफूहरूलाई धेरै सहज भएको बताउँछिन् । हरेक महिना पढाइ छुट्ने तथा विद्यालय समयको बीचमै बिदा मागेर घर जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

52942906_405036576931844_3130196006688260096_n
त्यस्तै, अर्की छात्रा निशा लिम्बूले पनि विद्यालयले वितरण गर्ने प्याडले आफूहरूलाई धेरै सहयोग पुगेको बताइन् । पहिला मासिकश्रावको समय नजिकिँदै गर्दा तनाव हुन्थ्यो भने अहिले त्यस्तो केही महसुस नै नहुने उनी सुनाउँछिन् ।
विद्यार्थी मात्र होइन महिला शिक्षक पनि उक्त कार्यक्रमबाट प्रभावित भएका छन् । शिक्षक देवुकुमारी कार्की आफूहरूकै पहलमा प्याडको व्यवस्था भएको बताउँछिन् । जसका कारण शिक्षकदेखि विद्यार्थीसम्मलाई फाइदा पुगेको उनको भनाइ छ ।
विद्यार्थीले पनि कपडाको भन्दा सेनेटरी प्याड नै बढी रोज्ने भएकाले मासीक १० रुपैयाँका दरले रकम सङ्कलन गरेर प्याड खरिद गर्ने योजना बनाएको उनले सुनाइन् । सरकारले एक विद्यालय एक नर्सको कार्यक्रम ल्याउन लागेकोमा खुसी लागेको कार्की बताउँछिन् ।
त्यस्तै, विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासको लागि भन्दै स्मार्ट लाइबे्ररीको अवधारणा अवलम्बन गरेको छ । निबन्ध, उपन्यास, कथालगायत सामान्यज्ञानका पुस्तक राखेर लाइब्रेरी तयार पारिएको छ । केही समयमै कम्प्युटरसहितको स्मार्ट लाइब्रेरीको व्यवस्थापन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर राईले बताए ।

50597956_816651662003444_841564172675186688_n
त्यस्तै, विद्यालयले समयक्रम अनुसारको शिक्षण सिकाइ क्रियाकलापलाई परिष्कृत गर्दै प्रोजेक्टरको माध्यमबाट पढाउने काम शुरु गरेको छ । भिडियो देखाउँदै पढाउँदा विद्यार्थीले चाडै सिक्ने हुँदा पढाइको ढाँचा परिवर्तन गरिएको प्रधानाध्यापक महतको भनाइ छ ।
त्यस्तै, कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई भित्तामा चित्र बनाएर त्यही चित्रको अधारमा पढाउने व्यवस्था मिलाइएको छ । मष्तिष्कले शब्दभन्दा चित्रलाई चाँडो बुझ्ने भएकाले यो विधि अपनाइएको उनले बताए ।