भोजपुरः भोजपुरको पौवादुङ्मा गाउँपालिकाकाले २८ विद्यालयलाई कम्प्युटर, इन्भटरसहित सोलार सेट र ई–हजारी मेसिन वितरण गरेको छ ।
गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा शिक्षाको गुणस्तर सुधार गरी विद्यार्थीलाई प्राविधिक ज्ञान दिलाउने उद्देश्यले उक्त सामग्री वितरण गरेको हो । गाउँपालिकाले विद्युत सेवा विस्तार नभएका ११ वटा विद्यालयलाई इन्भटरसहित एक सय वाटका सोलार, १÷१ थान कम्प्युटर र ई–हाजिरी वितरण गरेको छ । त्यस्तै १० विद्यालयलाई एक÷ एक थान कम्प्युटर र ई– हाजिरी वितरण गरेको छ ।
यसअघि नै कम्प्युटर जडान गरिएका ७ वटा विद्यालयलाई ई– हाजिरी मात्र वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार ४ लाख ५० हजारका इन्भटरसहितका सोलार, ११ लाख ५० हजारका कम्प्युटर र ४ लाख २० हजार रुपैयाँका २८ वटा ई– हाजिरी सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम भटट्राईले बताए । गाउँपालिकामा रहेका ६ वटा स्वास्थ्य संस्थामा पनि तत्कालै ई–हाजिरी जडान गरिने गाउँपालिकाले जनाएको छ ।