पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिकामा यही फागुन १५ गतेबाट हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान शुरु हुने भएको छ ।
विश्वका करोडौ मानिसले हात्तीपाइले रोग विरुद्घको औषधी सेवन गरिसकेको र औषधी सेवन गर्दा कसैलाई वाकवाकी लाग्ने, बान्ता हुने, रिङ्गटा लाग्ने आदि जस्ता लक्षणहरु देखा पर्न सक्ने भएको हँुदा त्यस्ता लक्षण देखा पर्दा नआत्तिन नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले आग्रह गरेका छन् ।
यस्ता लक्षण देखा परे आफ्नो शरीरमा पनि रोगको परजीवी रहेछ भनेर बुझ्नुपर्ने उनले बताए । हात्तीपाइलेको औषधी खाना या नास्ता खाएपछि खाएमा यस्ता असर धेरै कम देखा पर्ने र खासगरी यस्ता असर यो रोगका परजीवी भएका व्यक्तिलाई हुन सक्ने र परजीवीको सङ्ख्या अनुसार असर पनि घटबढ हुने उनले बताए ।
हात्तीपाइले रोगको औषधी ५ दशक पहिले नै विकास भई हालसम्म सोही औषधी प्रयोग हँुदै आएको र विश्व स्वास्थ्य सङ्गठनले पनि मान्यता दिएको औषधी भएकाले ढुक्क भएर औषधी प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।
पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा औषधी खुवाउने सम्बन्धमा आयोजित स्वास्थ्य स्वयम्सेविका अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राईले सबै नगरवासीलाई औषधी खानका लागि आह्वान गरेका छन् ।
उनले नगरको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न अन्तरक्रियामा बोल्दै फागुन १५ गते प्रत्येक वडामा कार्यक्रमको उद्घाटन् गरी घरघरमा गएर स्वास्थ्यकर्मीले औषधि खुवाउने अभियान रहेकाले ढुक्क भएर औषधी सेवन गर्न अपिल गरेका छन् ।
उनले नगरका निजी अस्तालसहितका सरोकारवाला निकायलाई औषधी खुवाउने अभियानमा लाग्न समेत आह्वान गरेका छन् । नगर पालिकाले यस पटक ५० जना स्वास्थ्यकर्मी परिचालन गरी १ साताको अवधिमा सबैलाई औषधी खुवाइसक्ने योजना बनाएको छ । नगरमा हाल १ दर्जनको सङ्ख्यामा हात्तीपाइले संक्रमित भई औषधि खाइरहेको बताइएको छ ।