इटहरीः अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरको इटहरी शाखाले इटहरीमा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

गुजरात आयुर्वेद युनिभर्सिटी भारतबाट एमएस गरेका र आयुर्वेदतर्फ भारत सरकारबाट विभिन्न मेडलबाट सम्मानित आयुर्वेद विशेषज्ञ सर्जन डाक्टर विजेन्द्र साहले बिरामीको स्वास्थ्यजाँच गरेका थिए ।

शिविरमा प्रदेश १ का सुनसरी, मोरङ, झापा, धनकुटा र सङ्खुवासभाका ४० भन्दा बढी बिरामी सहभागी रहेको आयोजकले जनाएको छ । शिविरमा पायल्स, फिसर, फिस्टुला, सुगर भएर निको नभएको घाउ, शरीरमा पलाएका मुसाजस्ता रोगको उपचार गरिएको थियो ।

शिविरका दिन सबै खालका सेवामा १० प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ । आगामी दिनमा विभिन्न देशका आयुर्वेदका विशेषज्ञ डाक्टरको सहभागितामा स्वास्थ्य शिविरको आयोजना गरिने हस्पिटलले जनाएको छ ।

यस्ता शिविरहरू प्रदेश नम्बर १ का अन्य शहर तथा गाउँमा पनि गरिने अस्पतालले जनाएको छ ।