विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तराईमा लामखुट्टेबाट सर्ने रोगबाट हुने अकाल मृत्यु रोकथामका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।
मोरङ क्षेत्र नं ४ का सङ्घीय सांसद अमनलाल मोदीले दक्षिण कोरियाको क्रुपी फाउण्डेसनबाट उपलब्ध गराइएका लामखुट्टे नियन्त्रण गर्ने ३० थान उपकरण मेशिन आज स्थानीय जनप्रतिनिधिलाई दिँदै यस्तो बताएका हुन् ।
मुख्यमन्त्री राईले जनप्रतिनिधिले मानव स्वास्थ्य रक्षामा सदैव काम गर्नुपर्नेमा जोड दिए । उनले सङ्घीय संरचनाअनुसार ३ तहको सरकार विकास र समृद्धिका लागि काँधमा काँध मिलाई हिँडिरहेको दाबी गर्दै जनताको विकासको चाहना चाँडै नै पूरा हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री राईले तराई, पहाड र हिमालको विविधिताले भरिएको देशमा शान्ति सुशासन कायम भई विकास मात्र एक एजेण्डा रहेको र दातृ निकाय पनि सहयोग गर्न तयार रहेको बताए ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशमा विकास निर्माणका काम भइरहेको बताउँदै जनताले त्यसको अनुभूति र परिणाम केही समयपछि देख्ने बताए ।
सङ्घीय सांसद अमनलाल मोदीले लामखुट्टेका कारण विभिन्न रोगबाट सर्ने रोगबाट सर्वसाधारणको जीवन जोगाउन मेसिन उपयोगी हुने विश्वासले सहयोग गरेको बताए । आगामी दिनमा जनताको आर्थिक आयआर्जनमा जोड दिने उनले बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले लामखुट्टे नियन्त्रण विषादी प्रयोगमा सावधानी अपनाउन आग्रह गर्दै महानगरले सो क्षेत्रमा ३÷४ महिनामा नियन्त्रण अभियान सञ्चालन गर्ने गरेको बताए ।
सहयोगी संस्था क्रुपका दक्षिण कोरियाका टोली नेतृत्वद्वय ली हान हू र चे होङले नेपाली जनतालाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने बताए ।