पाँचथरः पाँचथरमा सातौँ चरण सम्पन्न भइसक्दा समेत हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान प्रभावकारी हुन सकेको छैन ।
सन् २०२० सम्ममा देशबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि यहाँ सातौँ चरणसम्म औषधी सेवन अभियान सम्पन्न भए पनि प्रत्येक अभियानमा औषधी नखानेको सङ्ख्या उल्लेख्य रहने गरेको पाइएको छ ।

पाँचथरमा वि.सं २०६८ सालबाट हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउने अभियान सञ्चालित छ । स्वास्थ्य कार्यालय पाँचथरका अनुसार सातै चरणमा औषधी खान उपयुक्त समूहमध्ये करीब एक तिहाइले औषधी सेवन गरेका छैनन् । औषधी सेवन गर्नेको सङ्ख्या क्रमशः घटिरहेको कार्यालयको तथ्याङ्क छ ।

कार्यालयका अनुसार वि.सं २०६८ सालमा यहाँका ६५ दशमलव ७ प्रतिशत व्यक्तिले औषधी सेवन गरेका थिए । वि. सं २०६९ मा त्यो सङ्ख्या बढेर ६६ प्रतिशत, २०७० मा ७१ प्रतिशत तथा २०७१ र ०७२ मा ७५ प्रतिशत पुगेको थियो । तर, २०७३ सालमा उक्त सङ्ख्या घटेर ७२ दशमलव २ प्रतिशतमा झर्यो । गत वर्ष ७० दशमलव ६ प्रतिशतले मात्रै औषधी सेवन गरेको कार्यालयका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोले बताए ।

गत वर्ष कार्यालयले १ लाख ६७ हजार ३ सय ७० जना जिल्लावासीलाई औषधी खुवाउने लक्ष्य राखेको थियो । तर, निर्धारित बुथमा ८० हजार ५ सय ३४ जना मात्रै उपस्थित भएर औषधी सेवन गरे । स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंयम्सेवकले ३६ हजार २ सय ५ जनालाई घरैमा पुगेर औषधी सेवन गराएका थिए । गत वर्ष औषधि सेवन गर्न उपयुक्त व्यक्तिमध्ये ५० हजार ६ सय ३१ जनाले औषधि सेवन गरेनन् ।

औषधी सेवन गर्नेको सङ्ख्या सन्तोषजनक नहुनुले सरकारले लिएको हात्तीपाइले रोग उन्मूलनको लक्ष्य निर्धारित मितिमै पूरा गर्न कठीन रहेको स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख सागर प्रसाईँ हात्तीपाइले रोगको असरबारे पर्याप्त जानकारी सर्वसाधारणमाझ पु¥याउन नसक्दा औषधी सेवन गर्नेको सङ्ख्या सन्तोषजनक हुन नसकेको बताउँछन् । हात्तीपाइले रोगलाई सामान्य रूपमा लिई औषधी सेवन गर्न अनिच्छा देखाउँदा तथा यो रोगका असरबारे पूर्ण जानकारी दिन नसक्दा अभियान पूर्ण रूपमा सफल हुन नसकेको प्रसाईंको भनाइ छ ।

स्वास्थ्य शिक्षा प्रशिक्षक तुम्बापो हात्तीपाइले रोग विरुद्धको औषधीका विषयमा रहेका भ्रम चिर्न नसक्दा समेत औषधी सेवन गर्नेको सङ्ख्या कम भएको बताउँछन् ।

कार्यालयका स्वास्थ्य सहायक उमेश मेहताका अनुसार औषधी सेवनको अभियान पछि पनि रोग सङ्क्रमित तथा रोगका लक्षण देखिएका बिरामीको सङ्ख्या उल्लेख्य रहने गरेको छ । छैटौँ चरणसम्म अभियान सम्पन्न गरेपश्चात उक्त रोगको सङ्क्रमणबारे यहाँ स्वास्थ्य परीक्षण आयोजना गरिएको थियो । स्वास्थ्य परीक्षणबाट रोग सङ्क्रमित तथा रोगका लक्षण देखिएका बिरामीको सङ्ख्या उल्लेख्य पाइएको उनले बताए । मेहताका अनुसार जिल्ला सदरमुकाम फिदिममा ३ सय ६५ जनाको स्वास्थ्य परीक्षण गर्दा ७ जना र थर्पुमा १ सय जनाको स्वास्थ्य परीक्षण गर्दा दुई जनामा यो रोगको लक्षण देखिएको थियो ।

एक व्यक्तिले नियमित रूपमा ६ वर्षसम्म वर्षको १ पटक औषधी सेवन गरे हात्तीपाइले रोगको सङ्क्रमण निदान हुने तथा रोगबाट सङ्क्रमित हुने सम्भावना नरहने स्वास्थ्यकर्मीको भनाइ छ ।

पाँचथरमा यही फागुन १५ गतेबाट ३ दिनसम्म आठौँ चरणमा औषधी खुवाउन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रसाईँले बताए । यस वर्ष पाँचथरमा १ लाख ८३ हजार ६ सय ८९ जनालाई औषधी सेवन गराउने लक्ष्य कार्यालयले लिएको छ । यसका लागि स्थानीय तहस्थित स्वास्थ्य शाखाहरूले तयारी अघि बढाएका छन् ।