विराटनगरः मोरङ जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गतेदेखि अभियान शुरु गरिने भएको छ । विराटनगर महानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त अभियानअन्तर्गत महानगरपालिकाले २ सय ९२ केन्द्रबाट औषधि सेवनको कार्यक्रम सञ्चालन गर्ने भएको बताइएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यसहित सबैले औषधी सेवन गरी अभियानलाई सफल बनाउने कार्यको शुरु गरिने बताए । जिल्ला जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले हात्तीपाइले रोग सबै उमेरका व्यक्तिलाई लाग्ने बताए । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख लजिता योञ्जनले दक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधी सेवन गराइने बताए ।

मोरङ जिल्लामा आव २०७३÷७४ मा २ सय १३ र ०७४÷७५ मा ९ जना हात्तीपाइले रोगका बिरामी फेला परेको सो अवसरमा जानकारी दिइयो । महानगरपालिकाभित्र सो अभियानअन्तर्गत २ लाख ४० हजारलाई औषधी सेवन गराउन तालीमप्राप्त १ सय ४८ महिला स्वयंसेविकासहित ४५ स्वास्थ्यकर्मी खटाइने बताए । महागरपालिकाका प्रत्येक वडा, विद्यालय, केन्द्रमा औषधि सेवन गराउने कार्यक्रम रहेको छ । गत वर्ष महानगरपालिकाका २६ प्रतिशत नागरिकले औषधि सेवन गरेको सोही अवसरमा जानकारी दिइयो ।

यस वर्ष पूर्वका पाँचथर, इलाम, झापा, धनकुटा र मोरङ जिल्लामा यो अभियान सञ्चालन हुने भएको छ ।