खोटाङः जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाका हरेक विद्यालयमा सचेतना अभियान सञ्चालन गर्नुका साथै सामाजिक कामलाई पनि तीव्रता दिएको छ ।

जिल्लाका हरेक विद्यालयमा गएर महिला हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सार्वजनिक स्थलको सरसफाइ, अप्ठ्यारोमा परेकालाई उद्धार तथा भौतिक निर्माण लगायतका काममा सहयोग गर्दै आएको हो ।

जिल्लामा हुन सक्ने महिला हिंसा, यौन दुव्र्यवहार र बलात्कारको घटना न्यूनीकरण गर्न विद्यालयमा सचेतनामूलक अभियान सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

अभियानका क्रममा महिला तथा लैङ्गिक हिंसा, यौन दुव्र्यवहार र बलात्कार घटनाका साथै साइवर क्राइमका बारेमा विद्यार्थीलाई सचेतना अभिवृद्धि गराइने उनको भनाइ छ ।

केसीले गत साउनदेखि हालसम्म जिल्लामा १९ वटा यौनजन्य हिंसाका घटना भएकामा १७ वटा घटना चिनजानका र आफन्तबाटै भएको उजुरी प्रहरीमा दर्ता भएको जनाए । जो कोहीलाई भेट्ने नाममा एकान्तमा एक्लै नजान र अपरिचितको फोन आएमा नबोल्न उनले आग्रह गरे ।

जिल्लामा महिला हिंसा, यौन दुव्र्यवहार र बलात्कारका घटना दिनानुदिन वृद्धि हुँदै गएकाले प्रहरीले विभिन्न विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रम गर्दै आएको हो ।

प्रविधिको विकाससँगसँगै समाजमा नराम्रा गतिविधि भइरहेकाले प्रहरीले सञ्चालन गरेको यो अभियान अत्यन्तै उपयोगी भएको प्रधानाध्यापक बताउँछन् । प्रहरीले सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा अहिलेसम्म जिल्लाका २२ वटा विद्यालयमा पुगेर सचेतना अभियान सञ्चालन गरिसकेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतना अभियानसँगै हरेक शुक्रबार सरसफाई तथा सामाजिक कामलाई पनि सहयोग गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयसँगै चारवटै इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहभागी भएर पर्यटकीयस्थल तथा मठ मन्दिर, सार्वजनिकस्थल लगायतको सरसफाइमा जुटेको बताइएको छ ।