सोलुखुम्बुः माप्य दूधकोशी गाउँपालिकाले विद्यालयस्तरीय परीक्षा आफँैले सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको हालै बसेको बैठकले पालिकाभित्रका कक्षा ५ र ८ का लागि शैक्षिकसत्र २०७५ को अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षा समितिका अध्यक्षसमेत रहेका गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको बैठकले उक्त परीक्षा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाकी उपप्रमुख जुनिता मगरले बताइन् । सो परीक्षा सञ्चालन गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा ५ सदस्यीय परीक्षा समिति गठन गरिएको छ । गठित समितिले परीक्षा मिति र प्रश्नपत्र तयार पार्ने छ ।

उपप्रमुख मगरका अनुसार सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदो क्रममा रहेको भन्दै निजी विद्यालयतर्फ अधिकांशको आकर्षण बढेकाले त्यसको न्यूनीकरण गर्ने प्रयासस्वरुप पालिकाले परीक्षा सञ्चालन गर्ने भएको हो । परीक्षामा सहभागी भई उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई क्रमशः नगद रु १० हजार, ८ हजार र ६ हजार प्रदान गरिने उपप्रमुख मगरले बताइन् ।

यस्तै, कक्षा ८ बाट सहभागी विद्यार्थीले ल्याएको उत्कृष्ट अङ्क, विद्यार्थी सङ्ख्यालगायतलाई मूल्याङ्कन गरी ३ विद्यालयलाई संस्थागत रूपमा नगद ५० हजार, ४० हजार र ३० हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने भएको छ । विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थीलाई समेत उत्प्रेरित गर्ने उद्देश्यले पुरस्कार राशी निर्धारण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

गाउँपालिकाले सञ्चालन गर्ने परीक्षामा कक्षा ५ का लागि २१ र कक्षा ८ का लागि १३ विद्यालयका करीब ६ सय विद्यार्थीले सहभागिता जनाउने बताइएको छ ।

बैठकले प्राविधिक र व्यावसायिक शिक्षा सञ्चालनका लागि दीर्घकालीन योजना निर्माण गर्ने निर्णय गरेको छ । यो शैक्षिकसत्रमा पालिकास्तरीय परीक्षा सञ्चालनको निर्णय गर्ने माप्यदूधकोशी जिल्लाकै पहिलो गाउँपालिका बनेको छ ।

शैक्षिकसत्र २०७४ मा थुलुङ दूधकोशी गाउँपालिकाले पहिलोपटक कक्षा ८ को परीक्षा लिएको थियो । तर, यो वर्ष भने उक्त गाउँपालिकाले त्यससम्बन्धी कुनै पनि निर्णय गरेको छैन ।

शिक्षामा सुधार ल्याउने भन्दै गाउँपालिकाले शिक्षा ऐन पारित गरेर काम गरिरहेको भए पनि सुधार हुन नसकेको अभिभावक बताउँछन् । थुलुङ दूधकोशी गाउँपालिका–८ का कुलबहादुर राईले सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि गाउँपालिकाले सशक्त कदम चाल्नुपर्ने बताए ।