केराबारीः गरिबीका कारण उपचारमा समस्या आएपछि मोरङको केराबारीकी मिश्रा विश्वकर्माको उपचारका लागि खर्च जुटाउन स्थानीय युवा लागेका छन् ।
केराबारी–८ आधारशिला टोल निवासी मिश्रा विश्वकर्मा घाँटीको क्यान्सरबाट पीडित छिन् । उनको हाल भारतको दिल्लीस्थित राजीव गान्धी इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
आर्थिक अवस्था अति नै कमजोर भएको र परिवारको एक्लो प्रयासले उपचार सम्भव नभएपछि उनलाई बचाउन स्थानीय एकजुट भएका हुन् ।
मिश्राको जीवनरक्षाका लागि स्थानीयहले ‘मिश्रा बचाऔँ अभियान’ नै सञ्चालन गरिरहेका छन् । यो अभियानमार्फत् अहिले स्थानीयहरू टोलटोलमा पुगेर आर्थिक सङ्कलन गरिरहेका छन् ।
माघ १६ गतेदेखि शुरु गरिएको अभियानमा हालसम्ममा १ लाख ५९ हजार ७ सय १० रुपैयाँ जम्मा भएको छ । यो अभियान जारी रहने मिश्रा बचाउ अभियानका संयोजक गोकुल थापाले बताए । मिश्राको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या आएपछि आफूहरू उनलाई बचाउने अभियानमा लागेको उनको भनाइ छ ।
अभियानमार्फत् जम्मा भएको रकम सप्तकोशी विकास बैक लिमिटेड, शाखा कार्यालय केराबारी मोरङको खातामा जम्मा गर्न सकिने बताइएको छ । हालसम्म उनको उपचारमा करिब ४ लाख खर्च भइसकेको र थप १० लाख रुपैयाँ आवश्यक भएको बताइएको छ ।