धरानः धरान मोडल कलेजको वार्षिक सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीका मन्त्री (सचिव) मुकुल कायस्थ र वरिष्ठ पत्रकार हर्ष सुब्बा विशिष्ट अतिथि रहेका थिए ।
गत शनिबार धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारीले खेलकुद सप्ताहको उद्घाटन गरेकी थिइन् । मिनी म्याराथुनबाट शुरु गरिएको यस सप्ताहव्यापी कार्यक्रममा खेलकुदलगायत विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिएका थिए । जसअन्तर्गत चेस, चाइनिज चेकर, क्यारमबोर्ड, टेबल टेनिस, फुटबल, भलिबल, हाजिरीजवाफ, वक्तृत्वकला, कविता प्रतियोगिता, सरसफाइ एवम् रक्तदान कार्यक्रम रहेका थिए । प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि श्रेष्ठले समापन समारोहमा पुरस्कार वितरण गरेका थिए ।
सोही समारोहमा एपी वान टेलिभिजनद्वारा आयोजना गरिएको पब्लिक स्पिकर नेपाल सिजन २ का विजेता रमेश प्रसार्इँलाई सम्मान गरिएको थियो । धरान मोडल एकेडेमी प्रालिअन्तर्गत सञ्चालित कौशिकी क्याम्पसको बीएड चौथो वर्षमा अङग्रेजी मूल विषय लिएर अध्ययनरत प्रसाईंले देशभरका सयौं प्रतिष्पर्धीहरूलाई पछि पार्दै पब्लिक स्पिकरमा विजयी भएका थिए ।
सम्मानित व्यक्तित्वलाई कलेजका तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो । मन्तव्यका क्रममा सम्मानित प्रसाईंले साथीहरूको हौसला र गुरुहरूको सही मार्गनिर्देशनकै कारण आफू सफल भएको बताएका थिए । आफू कुशल प्राध्यापक बन्ने लक्ष्य लिएका उनले यस विजयबाट आफू निकै उत्साहित भएको र टेलिभिजनमा अन्तर्वार्ता लिने कुशल व्यक्तित्वका रूपमा आफूलाई प्रस्तुत गर्न सकिन्छ कि भन्ने सोच विकसित हुन थालेको उनी बताउँछन् ।
समापन कार्यक्रममा बीबीएस प्रथम वर्षमा उत्कृष्ट (७० दशमलव ४० प्रतिशत) अङ्क ल्याई तह पार गर्ने छात्रा शर्मिला बस्नेतलाई नगद पुुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । मोडल कलेजका प्राचार्य प्रवीन राईको सभापतित्वमा सञ्चालित यस कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिलगायत धरान मोडेल प्रालिका अध्यक्ष डा. योगेन्द्र पालुङ्वा, प्रालिका उपाध्यक्ष जीवनकुमार राई, शिक्षासेवी इन्द्रबहादुर राई, खेलकुद सप्ताहका संयोजक प्रकाश कार्की, विद्यार्थी प्रतिनिधि शर्मिला बस्नेतले कलेजको समुन्नतिका विषयमा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कौशिकी क्याम्पसका प्राचार्य मोहन श्रेष्ठद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो भने प्राध्यापक निश्चल सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।