विराटनगरः कृषि, जलविद्युत र पर्यटन क्षेत्रका लागि उपयुक्त जनशक्ति उत्पादन गर्न प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुनुपर्ने सहभागीले सुझाव दिएका छन् ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा गठित प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदलले शुक्रबार भेला आयोजना गरेको हो । प्रदेशस्तरीय विश्वविद्यालय सम्भाव्यता अध्ययन अन्तरक्रिया एवं सुझाव सङ्कलनमा सरोकारवालाले जल, जङ्गल र जमिनलाई आधार बनाएर विश्वविद्यालय स्थापनामा जोड दिएका छन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वदेश तथा विश्वबजारमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने सोचले प्राविधिक विश्वविद्यालय स्थापना गर्ने कार्य भइरहेकोे बताए । फूलको आयात निरुत्साहित गर्नका लागि सोसम्बन्धी एउटा विश्वविद्यालय इलाममा स्थापना गर्न सुझाव आएको पनि उनले बताए ।

उनले कृषि, पर्यटन, जलविद्युत् जनशक्ति उत्पादन गरी प्रदेशलाई सम्पन्न बनाउनका लागि रोजगारमूलक शिक्षा प्रदान गर्ने प्राविधिक विश्वविद्यालय स्थापना गर्नु आजको आवश्यकता रहेको बताए ।

सहभागीले प्रदेशमा स्थापना हुने विश्वविद्यालय २१ औँ शताब्दीको अवधारणाअनुसार हुनुपर्ने बताए । जलविद्युत्, खानी, भूगर्भ इञ्जिनियरिङ, कृषि, पर्यटन, सूचना प्रविधि, अनुसन्धानमूलक, विद्यार्थीलाई स्वयंसेवक परिचालन, परम्परागत पेशाको संरक्षण गर्ने र प्रयोगात्मक शिक्षाबाट अध्यापन हुनुपर्ने सुझाव सहभागीको थियो ।

यसैगरी, विश्वविद्यालयका कुलपति उच्च स्तरको विज्ञको समूहबाट नियुुक्त गरिनुपर्ने, राष्ट्रिय र सामुदायिक वन र जलविद्युत् आयोजनाबाट निश्चित रकम प्रदेश सरकारले उठाउनुपर्ने सुझाव सहभागीको थियो ।

अध्ययन कार्यक्रमका संयोजक प्राडा महेशराज दाहालको सभापतित्वमा कार्यक्रम भएको थियो । प्रदेशसभाका सदस्य जयराम यादव, विद्यानन्द चौधरी, वसन्तीदेवी यादव, गुलेफु खातुन, बिन्दीया कार्की, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गुरु बराललगायतले सुझाव दिएका थिए ।

त्यस्तै, निजी विद्यालयको तर्फबाट दिपेश बास्तोला, विद्यार्थी सङ्गठनबाट भाष्कर खनाल, पेशागत शिक्षक सङ्गठनबाट लक्ष्मी श्रेठ, प्रदेश कर्मचारीबाट अशोक कालाखेती, प्राध्यापक उद्धव पोखरेल र सञ्चारकर्मी सुदीप कोइरालाले सुझाव दिएका थिए ।

यसअघि प्रदेशको १३ जिल्लामा सुझाव सङ्कलन गर्ने काम सम्पन्न भइसकेको बताइएको छ ।