इटहरीः सीबी कलेज इटहरी र प्रिमियर होटेल स्कुल इटहरीको आयोजनामा आधारभूत तहका १ सय १० बढी बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
बिहीबार आयोजित एक कार्यक्रममा पकली मावि इटहरी–१७ का आधारभूत तहमा अध्ययनरत विपन्न वर्गका बालबालिकालाई न्यानो कपडा (स्वीटर) वितरण गरिएको हो ।
पकली माविको हलमा आयोजित स्वीटर वितरण कार्यक्रममा सीबी कलेज तथा सगरमाथा कलेजका अध्यक्ष दिनेश भट्टराई र प्राचार्य सागर भट्टराईले विद्यार्थीलाई स्वीटर लगाइदिएका थिए ।
अधिकांश मुसहर जातिका बालबालिका जाडो याममा पनि नाङ्गो खुट्टा र पातला लुगामा विद्यालय आउँदा पठनपाठनमै अप्ठ्यारो परेको देखेर सहयोग गरिएको कलेजले जनाएको छ । कलेजको सामाजिक सहकार्य कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण कार्यक्रममा प्रिमियर होटेल र लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीले पनि सहकार्य गरेका थिए ।
कार्यक्रममा कलेजका अध्यक्ष दिनेशकुमार भट्टराई, प्राचार्य सागर भट्टराई र प्रिमियर होटेल स्कुलको सहसचिव तथा प्याब्सन सुनसरीका उपाध्यक्ष नेल्सन (थानेश्वर) ढकालले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सीबी कलेजका लेखा संयोजक दयाराम भट्टराई, प्रमुख शैक्षिक सल्लाहकार डा. दिवाकर रेग्मी, सञ्चालक खेमराज बास्तोलाको उपस्थिति रहेको थियो । विद्यालयका शिक्षक हरिराम भट्टराईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता देवनारायण चौधरीले गरेका थिए ।