धरानः सामुदायिक विद्यालयका छात्रा नियमित विद्यालय जाँदैनन्, गईहाले भने पनि समयमा पुग्दैनन् । यसको मुख्य समस्या भनेको महिनावारीको समस्या हो ।

कतिपय किशोरी महिनावारीका बेला विद्यालय जाँदैनन् भने कतिपय ढिलो गरी विद्यालय पुग्छन् । त्यसको कारण हो उनीहरूले प्रयोग गर्ने प्याड उपलब्ध नहुनु ।

कतिपय किशोरीसँग प्याड किन्ने पैसा हँुदैन त्यसकारण उनीहरू घरमा नै बस्छन् । यो समस्यालाई स्थानीय सरकारले ध्यान दिएर निःशुल्क सेनेटरी प्याड वितरण गर्नुपर्ने हो तर स्थानीय सरकारको ध्यान जान सकेको छैन । तर केही गैरसरकारी संस्थाले भने कहिलेकाहीँ धरानका विभिन्न विद्यालयहरूमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरेका छन् ।

‘प्याड नभएकै कारण कहिलेकाहीँ पढ्ने बेलासम्म कति दिन स्कुल छुटाएर बसें,’ सामुदायिक विद्यालयकी एक छात्राले भनिन् ‘सबै साथीको समस्या एउटै थियो ।’ महिनावारी हुँदा बग्ने रगत लुकाउन र सरसफाइमा ध्यान दिन नसकेकै कारण अझै पनि धेरै छात्राको स्कुल छुट्ने उनले सुनाइन् । महिनावारीका बेला चाहिने प्याड किन्ने पैसा नभएकै कारण विद्यालय छुट्ने गरेको उनले बताइन् ।

किशोरीहरूलाई रजस्वला हुँदा समेत नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न सहज होस् भन्ने उद्देश्यले सेनेटरी प्याड वितरण गरिएको विश्व शान्ति महिला सङ्घ सुनसरी शाखाकी अध्यक्ष सीता सुब्बा खापुङले जानकारी दिइन् । व्यवस्थापनको समस्याका कारण पढाइ नछुटोस् र पैसाको पनि बचत होस् भनेर यस्तो कार्य गरिएको उनले बताइन् ।

अधिकांश छात्राहरू महिनावारीको समयमा विद्यालयमा अनियमित हुने भएकाले केही हदसम्म भए पनि कार्यक्रमले सहयोग पुगेको विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् । ‘फोहोर होइन रजस्वला, यो त सिर्जनाको तयारी हो, न त रहर न त बाध्यता, यो त प्रकृतिको वरदान हो’ भन्ने मूल नाराका साथ गरिएको कार्यक्रममा धरानका किरातेश्वर मावि, शारदा बालिका नमूना मावि, पब्लिक हाइस्कुल, किरातेश्वर माविलगायत आधा दर्जन बढी विद्यालयका किशोरीले सेवा लिएका थिए ।

कक्षा ८ देखि प्लस टुसम्मका ३ सय छात्रछात्रालाई सेनेटरी प्याड वितरण गरिएको उनले बताइन् । प्याड वितरणका अवसरमा बोल्दै नर्स एलिना राईले किशोरीहरूलाई विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि आगामी दिनहरूमा उनीहरूको प्याड प्रयोग गर्ने बानीको विकास हुने र महिनावारीको समयमा छात्राहरूले विद्यालय छाड्ने क्रम रोकिने विश्वास गरिन् । ‘सेनेटरी प्याड प्रयोग गर्न थालेपछि महिनावारी भएको समयमा पनि विद्यालयमा छात्राहरूको उपस्थिति राम्रो रहनेछ ।

पहिले सरसफाइ सामग्री, प्याड प्रयोग तथा प्याड फेर्ने तरिकाको विषयमा किशोरीहरूमा राम्रो जानकारी नभएका कारण उनीहरूमा विद्यालय छोड्नुपर्ने बाध्यता थियो । अब त्यो समस्या केही समयका लागि भएपनि टरेको हामीले महसुस गरेका छौं,’ उनले थपिन् ।

यस्तो शुरुवातले सकारात्मक प्रभाव परेको विद्यालयका प्रधानाध्यापकहरूको भनाइ छ । ‘सेनेटरी प्याड विद्यालयमा नै उपलब्ध हुन थालेपछि विद्यालयमा छात्राहरूको उपस्थिति राम्रो रहनेछ’, धरान–१९ स्थित किरातेश्वर माविका प्रधानाध्यापक योगेन्द्र पालुङ्वाले भने । छात्राहरूमा १३ वर्षको उमेरदेखि महिनावारी शुरु हुन्छ । महिनावारी भएको समयमा कसैलाई लामो समयसम्म पेट दुख्ने हुँदा आरामको जरूरी हुन्छ ।

‘विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुँदा हरेक महिना कम्तीमा ३ देखि ५ दिन छात्राहरू अनुपस्थित हुने गर्दछन्,’ पालुङ्वाले भने, ‘कम्तीमा सेनेटरी प्याड भए कक्षाकोठामा अनुपस्थित रहनेको सङ्ख्या घट्न थाल्छ ।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक रोहित रिजाल विद्यार्थीलाई प्याडको प्रयोग र शरीरको सरसफाइका विषयमा तालीम नै दिनुपर्ने बताउँछन् । कतिपय कुरा हामीलाई सजिलै आउनेजस्तो भए पनि त्यसका संवेदनशील पक्षमा ध्यान जाँदैन । एक पटक सिक्नुपर्छ’, उनले भने ।