इटहरीः मञ्जुश्री संवत् २८५५ तथा सोलार संवत् २१४६ को उपलक्ष्यमा हिमालयन सोरिङ सेन्टरको आयोजनामा झापाको बिर्तामोड तथा धरान शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
सोवा रिग्पा इन्टरनेशनल कलेजका अध्यक्ष एवं फेन्दे हिमालयन सोरिङ सेन्टरका प्रबन्ध निर्देशक डा तेञ्जिङ धार्के गुरुङ र वनारस विश्वविद्यालयका डा ङावङ ग्याछो लामाले बिरामीको औषधोपचार गरेका थिए ।
बिर्तामोड शिविरमा ४ सय ६८ र धरानमा ४ सय ९५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा अल्सर, पुरानो ग्याष्टिक, पिनास, पुरानो रुघाखोकी, पायल्स, हाडजोर्नी दुःखाइ, स्त्रीरोग, उच्च रक्तचाप, नशा, बाथलगायतका दीर्घ रोगका बिरामीलाई बिनाशल्यक्रिया निःशुल्क उपचार गरिएको बताइएको छ ।
प्रबन्ध निर्देशक डा. गुरुङका अनुसार विपन्न, ज्येष्ठ नागरिक एवं आँखा देख्न नसक्ने बिरामीलाई औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । गौतम बुद्धले थालेको नेपालको प्राचीन मौलिक चिकित्सा सोवा रिग्पा उपचार पद्दतिबाट सेन्टरले पाँच वर्षदेखि देशका विभिन्न भेगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको गुरुङले बताए ।