इटहरीः शहीद दिवसको अवसर पारेर बुधबार इटहरीमा लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीले २ सय ५१ पिन्ट रगत सङ्कलन गरेको छ ।
लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ ए वान क्लबमध्ये लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीले रक्तदानमा नयाँ रेकर्ड कायम गरेको हो ।
नेपालमा रहेका ४ वटा डिष्ट्रिक मध्येको काठमाडौं टँुडिखेल पूर्वको डिष्ट्रिक ३२५ ए वान हो । एकै दिन २ सय ५१ पिन्ट रगत सङ्कलन गरेर पहिलो रेकर्ड कायम गरेको लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीका अध्यक्ष राजेन्द्रकेशरी घिमिरेले बताए ।
पूर्वका अस्पतालहरूमा रगतको अभाव भइरहेको खबर प्राप्त भएपछि मानवीय सेवाका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । रक्तदानमा सर्वसाधारणदेखि राष्ट्र सेवक, निजामती कर्मचारी, लायन्सकर्मीलगायतको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको ब्लड बैंकको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष घिमिरेले जनाए ।