सङ्खुवासभाः सङ्खुवासभामा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षको ४ महिनामा साउन, भदौ, असोज र कात्तिकमा जम्मा ३ सय ७ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्लामा गर्भपतनसम्बन्धी सचेतनाको कार्यक्रम सञ्चालन गरिरहेको आइपास नेपालका कार्यक्रम अधिकृत कमानसिं राईले बताए । जिल्लामा आइपास नेपालको सहयोगमा समाज विकास केन्द्र सोडेकले सुरक्षित गर्भपतनसम्बन्धी सचेतनाको कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सङ्खुवासभामा जिल्ला अस्पतालसहित ११ वटा स्वास्थ्य संस्था सूचीकृत गरी निःशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालन भइरहेको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ ।

चालु आर्थिक वर्षको ४ महिनामा २० वर्ष मुनिका किशोरी २५ जनाले सुरक्षित गर्भपतन गराएका छन् । २० वर्ष माथिका २ सय ८२ महिलाले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये २० वर्ष मुनिका किशोरीहरूमा १९ जनाले औषधि प्रयोग गरेर गर्भपत गराएका हुन् भने ६ जनाले औजार उपकरणको प्रयोग गरेर गर्भपतन गराएका छन् ।

गत वर्ष साढे ६ सयले गराएका थिए गर्भपतन
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा जम्मा ६ सय ४८ जना महिलाले गर्भपतन गराएका थिए । जसमा २० वर्ष मुनिका किशोरी ६३ जनाले गर्भपतन गराएकोमा औषधिको प्रयोगद्वारा ४९ र औजार उपकरणको प्रयोगद्वारा १४ जनाले गर्भपतन गराएका थिए । २० वर्ष माथिका ५ सय ८५ जनाले गर्भपतन गराएका छन् । उनीहरूमध्ये औषधिको प्रयोगबाट ४ सय १० र औजार उपकरणको प्रयोगबाट १ सय ७५ जनाले गर्भपतन गराएका छन् ।

यस्तै आथिृक वर्ष २०७३÷०७४ मा जम्मा ५ सय २८ जनाले गर्भपतन गराएका थिए । सो वर्ष २० वर्ष मुनिका ८३ जनाले गर्भपतन गराएकोमा औषधिको प्रयोगबाट ९ र औजार उपकरणको प्रयोगबाट ७४ जनाले गर्भपतन गराएका थिए । २० वर्षभन्दा माथिका ४ सय ४५ जनाले गर्भपतन गराएका थिए । जसममध्ये औषधिको प्रयोगबाट १ सय १३ र औजार उपकरणको प्रयोगबाट ३ सय ३२ जनाले गर्भपतन गराएको जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा २० वर्ष मुनिका ५९ जना किशोरीहरू र २० वर्ष माथिका ४ सय १८ जनाले गर्भपतन गराएको जनस्वास्थ्यको तथ्याङ्कमा देखिएको छ ।

सुरक्षित गर्भपतनसम्बन्धी जानकारी पाएसँगै सङ्खुवासभाका महिला सुरक्षित गर्भपतन गराउन जिल्लामा तोकिएका स्वास्थ्य संस्थामा आई सुरक्षित गर्भपतन गराउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाको सुरक्षित गर्भपतन सेवा शाखा प्रमुख भवानी तिमल्सिनाले बताइन् ।

मुलुकी अपराध संहिताले गर्भपतनलाई महिलाको प्रजनन अधिकार मानेको छ । यसै ऐनलाई प्रतिस्थापन गर्न बनेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ ।

त्यस्तै, जबरजस्ती करणी र हाडनाता करणीबाट गर्भ रहेमा, आमालाई प्राणघातक रोग लागेमा र गर्भकै कारण महिलाको ज्यानमा शारीरिक वा मानसिक स्वास्थ्य खराब हुने खतरा भएमा सूचीकृत संस्थाबाट महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन मिल्छ ।

चिकित्सकको परामर्शबिना औषधि सेवनबाट गर्भपतन गराउँदा स्वास्थ्यमा जटिल समस्या पर्ने भएकाले गर्भपतन गराउँदा सल्लाह लिनुपर्ने चिकित्सकहरू बताउँछन् ।