विराटचोकः पब्लिक क्याम्पसहरूको नेतृत्वदायी संस्था नेपाल पब्लिक क्याम्पस सङ्घ १ नं प्रदेश समितिको प्रदेशस्तरीय भेला सम्पन्न भएको छ ।

सुकुना बहुमुखी क्याम्पस मोरङको सभाहलमा सम्पन्न उक्त भेलाको उद्घाटन प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले प्रादेशिक विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदलले दिएको प्रतिवेदन अनुसार प्रदेश सरकार अघि बढ्ने बताए ।

प्रदेशसभा सदस्य राजकुमार ओझाले पब्लिक क्याम्पसले आफूलाई समय सापेक्ष बनाउँदै लैजानुपर्ने बताए । पब्लिक क्याम्पस सङ्घका केन्द्रीय सभापति भोलानाथ ओझाले समिति प्रादेशिक विश्वविद्यालयको अवधारणाअनुसार अघि बढिरहेको बताए ।

सभापति ओझाले आवश्यकता र औचित्यका आधारमा पब्लिक क्याम्पसहरूलाई मर्ज गर्ने प्रस्ताव आएको पनि बताए । कार्यक्रमका अधिकांश वक्ताले पब्लिक क्याम्पस र त्यहाँ अध्यापनरत शिक्षकहरूलाई सरकारले उपेक्षा गरेको आरोप लगाएका थिए ।

कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक गणेशप्रसाद दाहालले ‘प्राविधिक तथा व्यावसायिक शिक्षा, समृद्धिको आधार’ र नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय उपाध्यक्ष शिवराज सञ्जेलले ‘प्रस्तावित सामुदायिक विश्वविद्यालय स्थापना’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुत भएका कार्यपत्रमाथि डा. पेशल खनाल र प्रा. डा. महेशराज दाहालले टिप्पणी गरेका थिए । सुकुना बहुमुखी क्याम्पसका प्रमुख प्रेमप्रसाद भट्टराईले स्वागत गरेका थिए । नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय उपाध्यक्ष पीतकुमार श्रेष्ठले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पारेका थिए ।

नेपाल पब्लिक क्याम्पस सङ्घ १ नं प्रदेश समितिका संयोजम उत्तमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सङ्घका सचिव द्रोण न्यौपानेले गरेका थिए ।

कार्यक्रममा अवसरमा प्रदेशसभा सदस्य राजकुमार ओझा, नेपाल पब्लिक क्यापस सङ्घका केन्द्रीय अध्यक्ष भोलानाथ ओझा, सरकारबाट गठित प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदलका संयोजक प्रा.डा. महेशराज दाहाल, सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धना तामाङ सहभागी थिए । त्यस्तै, सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, नेपाल पब्लिक क्याम्पस सङ्घ प्रदेश १ का संयोजक उत्तमप्रसाद भट्टराई लगायत १ नं प्रदेशका पब्लिक क्याम्पसका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।