दुहबीः ६६ औं कुष्ठरोग दिवसको अवसरमा सरोकारवाला निकायका प्रमुख प्रतिनिधि तथा जनप्रतिनिधिसँग सुनसरीको दुहबीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कुष्ठरोग सङ्गति सुनसरीका संयोजक दीपक घिमिरेले नेपालमा कुष्ठरोगको अवस्था, परिभाषा, रोकथाम र जटिलताको विषयमा जानकारी दिएका थिए । दुहबी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा दुहबी नगर स्वास्थ्य प्रमुख उचितनारायण साहले सहजीकरण गरेका थिए ।
कुष्ठरोग प्रभावितलाई कम्बल वितरण
कार्यक्रममा कुष्ठरोग सङ्गति सुनसरीको सहयोगमा दुहबी नगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता दाहाल (साह) र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले १४ जना कुष्ठरोग प्रभावितलाई कम्बल वितरण गरेका थिए ।
कार्यक्रममा दुहबी नगरपालिकाका वडाध्यक्षहरू, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
यसैगरी, दुहवी नगरपालिकाको वडा नम्बर ३ ले जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले शुक्रबार एक कार्यक्रम गरी न्यानो कपडा वितरण गरेको हो । दुहवी वडा नम्वर ३ का ५० जनालाई न्यानो कपडा (कम्बल) वितरण गरिएको वडाध्यक्ष माधव भण्डारीले बताए ।