धरानः स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै जाँदा, विद्यार्थी सङ्गठनबीच विभिन्न गतिविधि सञ्चालनको होडबाजी शुरु भएको छ ।

यसैबीच, धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको अनेरास्ववियु क्याम्पस कमिटीको आयोजना तथा संयोजनमा सो क्याम्पसमा १ दिने आँखा शिविर सम्पन्न भएको छ । कार्यक्रममा करीब ४ सय विद्यार्थी तथा स्थानीय लाभान्वित भएका थिए । शिविरमा आँखा जाँचबाहेक अन्य सेवाहरू बिएमआइ जाँच, रक्त समूह छुट्याउने, रगतमा ग्लुकोज मात्रा परीक्षण, रक्तचाप तथा धड्कन परीक्षण सेवा पनि निःशुल्क उपलब्ध गराइएको थियो ।

आँखा जाँच धरानस्थित श्रेया चश्मा घर तथा आँखा उपचार क्लिनिकका दक्ष प्राविधिकबाट गरिएको थियो । अन्य सेवा सोही क्याम्पसमा अध्ययनरत विद्यार्थीले प्रदान गरेका थिए ।

स्वास्थय शिविर उद्घाटनको औपचारिक कार्यक्रमको प्रमुख आतिथ्यता अनेरास्ववियु सुनसरी जिल्ला कमिटी अध्यक्ष जीबी गजलले गरेका थिए । कार्यक्रमका संयोजक आशिष प्रधानले शिविर चुनावकेन्द्रित कार्यक्रम नभएको बरु यस्ता सिर्जनात्मक र सेवामूलक कार्यक्रम अनेरास्ववियुले वर्षभर नै गर्ने जानकारी दिए ।

hat