इटहरीः २४ घण्टा नै आकस्मिक सेवासहितको अप्रेसन सेवा समेत रहेको पहिलो ठूलो आँखा अस्पताल इटहरीमा सञ्चालनमा आएको छ । माघ १ गतेबाट इटहरी–४ स्थित मिलनचोकमा नवदृष्टि आई हस्पिटल प्रालि सञ्चालनमा आएको हो ।
दैनिक रूपमा आँखाको अप्रेसन गरिने हस्पिटलले ३ दिनमा २० जना बढीको आँखा सफलतापूर्वक अप्रेसन गरिसकेको जनाएको छ । फेको प्रविधिबाट फोल्डेबल तथा मल्टिफोकल लेन्स प्रयोग गरी मोतियाबिन्दुको शल्यक्रिया गरिने हस्पिटलका म्यानेजर तथा नेत्र अधिकृत रामप्रकाश महत्तोले बताए ।
उनका अनुसार आँखाका सर्जन डाक्टरसहित सञ्चालनमा आएको हस्पिटलमा आँखासम्बन्धी सबै खालका रोगको उचित उपचार गरिने छ । अब आँखाको कुनै पनि रोगको उपचारका लागि होस् या अप्रेसनका लागि होस् बिर्तामोड र विराटनगर जानु नपर्ने म्यानेजर महत्तोले बताए ।
मोतियाबिन्दुको एसआइसिएस, जलबिन्दु, आँशुनली, आँखामा मासु पलाएको, परेला तथा आँखाको ढकनी लगायत आँखासम्बन्धी सबै खालका शल्यक्रिया गरिने म्यानेजर महत्तोले बताए ।
हस्पिटलले कम्प्युटर प्राविधिद्वारा आँखामा लाग्ने चस्मा तथा लेन्सको पावर जाँच गर्ने जनाएको छ । आँखाको भिडियो एक्सरेको सुविधासमेत प्रदान गर्ने महत्तोले बताए । मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूमा हुने आँखा रोगको ओसिटीद्वारा जाँच गरिने पनि उनले बताए ।
हस्पिटलले चाँडै नै आँखाका नानी सङ्कलन गरी आँखाको नानी प्रत्यारोपण सेवा समेत सञ्चालन गर्ने योजना बनाएको उनले बताए । हस्पिटलले आँखाका बिरामीका लागि आकस्मिक सेवासँगै ओपिडी सेवा समेत सञ्चालन गरेको छ । बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म ओपिडी सेवा उपलब्ध गराइएको हस्पिटलले जनाएको छ । शनिबार भने बिहान साढे ७ बजेदेखि मध्याह्न्न १२ बजेसम्म मात्र ओपिडी सेवा उपलब्ध गराइएको उनले बताए ।