इटहरीः नेपाल सरकारले आयुर्वेदिक औषधिको अनुसन्धान र विकास तथा आयुर्वेद शिक्षा प्रदानको लक्ष्यका साथ ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ स्थापनाका लागि कानुन तर्जुमाको तयारी गरेको छ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित उक्त विश्वविद्यालय खोल्ने कार्यक्रमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’सम्बन्धी विधेयकको मस्यौदा तयार गरेको हो । चालु आर्थिक वर्षमा सो विश्वविद्यालयका लागि १० करोड बजेट विनियोजन गरिएको छ ।

ध्यान र योगका माध्यमबाट स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गर्न नागरिक आरोग्य कार्यक्रम सञ्चालन र विश्वविद्यालय स्थापनालाई सरकारले सँगसँगै अघि बढाएको छ ।

मन्त्रालयका सचिव खगराज बरालका अनुसार मस्यौदा विधेयकलाई कानुन र अर्थ मन्त्रालयको परामर्शपछि मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ । बहुमूल्य र उपयोगी जडीबुटीको मुलुक नेपालका लागि आयुर्वेदिक औषधिको अनुसन्धान र विकास तथा आयुर्वेद शिक्षा सान्दर्भिक बनाउन विश्वविद्यालयले काम गर्ने बताइएको छ । नेपालमा हालसम्म केन्द्रीय, क्षेत्रीय र अध्ययन प्रतिष्ठान गरी १४ विश्वविद्यालय सञ्चालित छन् ।

विसं १९२४ मा भोजपुरमा जन्मिएकी सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले वि.सं १९९८ मा आफ्ना ६४ जना अनुयायीका साथ अरुण नदीमा जल समाधि लिएकी थिइन् । आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपञ्चर, सोवा रिग्पा र प्राकृतिक चिकित्सा वैकल्पिक उपचार पद्धतिलाई एलोपेथिक उपचारसँग एकीकृत गरी स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने कार्यक्रम पनि बजेटमा राखिएको बताइएको छ ।