बेलबारीः मोरङ नेत्रहीन सङ्घको १९ औं स्थापना दिवसको अवसर पारेर बुधबार बेलबारीमा दृष्टिविहीनमैत्री शैक्षिक प्रणालीको विकासमा स्थानीय निकायसँगको भूमिका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख राजेन्द्र बुढाथोकी, नेत्रहीन युवा सङ्घका अध्यक्ष कलाधर भण्डारी, मोरङ नेत्रहीन सङ्घकी अध्यक्ष सावित्रा कोइरालालगायतको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि ज्ञानेन्द्र सुवेदीले कानुन बन्ने क्रममा रहेकाले केही द्धिविधा देखिए पनि कानुनको पूर्णतासँगै द्धिविधा हट्दै जाने आशा व्यक्त गरे ।

मिक्लाजुङ गाउँपालिकाका शिक्षा विभाग प्रमुख काशीनाथ खनालले अरु स्थानीय पालिकाले शिक्षा कार्यविधि राजपत्रमा प्रकाशित भएर कार्यान्वयन भइसकेको बताए पनि आफ्नो गाउँपालिकामा भने ढिलाइ भइरहेको बताए ।

जहदा गाउँपालिकाका स्रोत व्यक्ति बिन्दुकुमार लावतीले अपाङ्गमैत्री नीतिको निर्माणभन्दा पनि कार्यान्वयनको पाटो चुनौतीपूर्ण रहेको बताए ।

कानेपोखरी गाउँपालिका र बेलबारी नगरपालिकालाई हेर्ने स्रोतव्यक्ति प्रेम भट्टराईले शिक्षा कार्यविधि तथा ऐन निर्माणमा सजगता अपनाउनुपर्नेमा जोड दिए ।

नेत्रहीन युवा सङ्घको आयोजनामा मोरङ नेत्रहीन सङ्घ बेलबारीको सभाहलमा सञ्चालन भएको सो अन्तरक्रिया कार्यक्रममा मोरङ जिल्लाका १७ वटै स्थानीय तहका शिक्षा विभाग प्रमुख तथा विद्यालय निरीक्षकको सहभागिता रहेको थियो ।