विराटनगरः सङ्घीयता कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयअन्तर्गतका संरचना तथा अधिकार प्रदेश सरकारलाई हस्तान्तरण तथा प्रत्यायोजन गरेको छ ।

संविधानको अनुसूचीअनुसार मन्त्रालयअन्तर्गतका संरचना तथा विभिन्न ११ वटा अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रालयले प्रदेश सामाजिक विकासमन्त्रीको उपस्थितिमा ती मन्त्रालयका सचिवलाई स्वास्थ्य संरचना तथा अधिकार प्रत्यायोजन गरेको हो ।

स्वास्थ्य क्षेत्रमा सङ्घीयता कार्यान्वयन गर्न यसले कोशेढुङ्गाका रूपमा काम गर्ने बताइएको छ ।

यसअघि मन्त्रालयले स्थानीय तहलाई संविधानका अनुसूचीले निश्चित गरेका संरचनालाई हस्तान्तरण गरेको थियो ।

उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव तथा सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीको उपस्थितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव र सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवले सो स्वास्थ्य संरचना तथा विभिन्न ११ वटा अधिकार हस्तान्तरण÷प्रत्यायोजनमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे सहभागी थिए । कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री घिमिरेले सङ्घीयता कार्यान्वयन गर्न सङ्घीय स्वास्थ्य मन्त्रालयले आफ्ना संरचना तथा अधिकार प्रदेश तहलाई हस्तान्तरण गरी ऐतिहासिक कामको शुरुवात गरेको बताए ।