तेह्रथुमः जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ ।
आम्बुङकी ३३ वर्षीया लोककुमारी लिम्बूको जिल्ला अस्पतालमा प्रसूति गराइए पनि अत्यधिक रक्तस्राव भएका कारण थप उपचारका लागि हेलिकोप्टरमार्फत् कोशी अञ्चल अस्पताल विराटनगर लगिएको हो ।
लिम्बूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी कोशी अञ्चल अस्पताल पठाइएको प्रजिअ लक्ष्मीदेवी हुमागार्इंले बताइन् । छैटौँ पटक गर्भधारण गरेकी लिम्बूलाई गत शुक्रबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । शारीरिक रूपमा कमजोर भए पनि परिवारको स्वीकृतिमा जिल्ला अस्पतालमै शल्यक्रिया गरेर बच्चा जन्माइएको थियो । शल्यक्रियापछि उनलाई आइसियुमा राख्नुपर्ने अवस्था भएपछि रेफर गरिएको अस्पतालका चिकित्सक आनन्द देवले बताए ।
अस्पतालमा ब्लड बैंकसमेत नहुँदा २ जनाले रक्तदान गरेर लोककुमारीको शल्यक्रिया गरिएको थियो । जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारीपछि महिला तथा बालबालिका मन्त्रालयसँग समन्वय गरी उद्धार गरिएको प्रजिअ हुमागार्इंले बताइन् ।