बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर ६ ले सामुदायिक विद्यालयको शैक्षिक सुधार कार्यक्रम थालेको छ । सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण सँगै खेलकुद तथा अन्य गतिविधि गर्न पनि सो वडाले थालेको छ ।
नगरपालिकाभित्रका १० वटा विद्यालयलाई सहभागी गराएर वडा कार्यालयले खलेकुदसहित अन्य अतिरिक्त क्रियाकलाप गरेको हो । आफ्नो वडाका मात्रै नभई अन्य वडाका विद्यार्थीलाई समेत सहभागी गराएर वडाले कार्यक्रम गरेको हो । सो वडाले विद्यालयका विद्यार्थीबीच हिसाब दौड, वक्तृत्व कला, म्युजिकल चेयर्स, चित्रकला, हाजिरीजवाफ, दौड, सामुहिक नृत्य, लगायतका कार्यक्रम सम्पन्न गरेको वडाध्यक्ष उदयबहादुर राईले बताए ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका प्रतिभा बाहिर आउन नसकेका हुनाले शैक्षिक सुधारको अभियानमा लागेको उनले बताए । १ हजार भन्दा बढी विद्यार्थीहरूलाई भेला गराएर वडा नम्बर ६ ले अतिरिक्त कार्यक्रम गरेको हो । प्रतियोगिताले बेलबारीका विभिन्न वडाका सामुदायिक विद्यालयका छात्रछात्राहरूबीच अतिरिक्त क्रियाकलाप गरी भावनाको सम्बन्धको विकास गर्न सहयोग पुग्ने बताए ।