झापाः ५ वर्षभित्रमा १ करोड रुपैयाँ अक्षयकोषमा पु¥याउने लक्ष्यसहित मेचीनगर–६ स्थित काँकरभिट्टा बहुमुखी क्याम्पसले स्थापना गरेको अक्षयकोषमा कोषवापतको रकम शिक्षासेवी, समाजसेवीलगायत विभिन्न दाताले धमाधम जम्मा गरिरहेका छन् ।

सोमबार झापाको मेचीनगर–६ काँकरभिट्टाका ९० वर्षीय गंगाप्रसाद लुइँटेलले कोषमा २ लाख रुपैयाँको गंगा गायत्रादेवी लुइँटेल छात्रवृत्ति कोष स्थापना गर्दै रकम जम्मा गरेका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापा र क्याम्पस प्र्रमुख लक्ष्मीप्रसाद उप्रेतीलाई उक्त रकम बराबरको चेक लुइँटेलले प्रदान गरेका थिए ।

क्याम्पसका तर्फबाट उनलाई सम्मान समेत गरिएको थियो । क्याम्पसको प्रथम क्याम्पस सभाका दिन मात्रै १४ लाख रुपैयाँ भन्दा बढीको अक्षयकोष घोषणा भएको थियो । हालसम्म कोषमा ३८ लाख रुपैयाँ जम्मा भइसकेको र ५ वर्षभित्रमा १ करोड रुपैयाँ पु¥याउने क्याम्पस प्रमुख उप्रेतीले बताए ।

अक्षयकोषमा ५ वर्षको अवधिमा करिब १ करोड रकम पु¥याउन एकल तथा पारिवारिक योगदान र सामुहिक योगदानका आधारमा कोष खडा गरिने बताइएको छ । दाताहरुको इच्छाको आधारमा दाताहरूकै तर्फबाट विद्यार्थीको शुल्क भुक्तानी गरिदिने प्रकृतिको छात्रवृत्ति कार्यक्रम समेत समावेश गरिने प्रमुख उप्रेतीले बताए ।

यसअघि मेचीनगर नगरपालिकाका प्रमुख एवम् क्याम्पसका सञ्चालक समितिका पूर्व अध्यक्ष विमल आचार्यले ५ लाख, शिक्षासेवी तथा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष मोहनप्रकाश उप्रेतीले २ लाख, क्याम्पसका कर्मचारी र शिक्षकबाट २ लाख २० हजार, क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती र क्याम्पस सञ्चालक सदस्य कमल थापाले २÷२ लाख रुपैयाँ दिने घोषणा गरिसकेका छन् ।

युवा व्यवसायी बासु खड्काले ७५ हजार, तत्कालीन बाहुनडाँगी गाविसका अध्यक्ष नीलकण्ठ तिवारीले ५१ हजार तथा व्यवसायी रोशन अग्रवालले ५१ हजार रुपैयाँको अक्षय कोष रकमको घोषणा गरेको क्याम्पसले जनाएको छ ।

२०५५ सालमा स्थापना भएको क्याम्पसमा हाल व्यवस्थापन र शिक्षा सङ्काय गरी २ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । आम्दानीको भरपर्दो स्रोत नभएका कारण शिक्षक तथा कर्मचारीलाई पनि उचित पारिश्रमिक दिन नसकिरहेको अध्यक्ष थापाले बताए । क्याम्पस सञ्चालनका क्रममा केही सरल होस् भने उद्देश्यले आफूले अक्षयकोषको स्थापना गरेको लुइँटेलको भनाइ छ ।

क्याम्पसको स्वामित्वमा जग्गा नहुँदा थप समस्या
क्याम्पस परिसरमा क्याम्पसको भोग चलनमा करिब १० कठ्ठा जग्गा भए पनि हालसम्म जग्गाको स्वामित्व क्याम्पसका नाममा कायम हुन नसक्दा क्याम्पसले पाउने विभिन्न अनुदानबाट समेत वञ्चित रहेको छ ।

‘भोगचलन क्याम्पसले गरिरहेको छ, तर स्वामित्व चाहिँ तत्कालीन ग्रामीण आवास कम्पनीको नाममा छ’, प्रमुख उप्रेतीले भने, ‘विश्वविद्यालय अनुदान आयोगबाट भवन निर्माणका लागि करीव ५० लाख रुपैयाँ प्राप्त हुन्थ्यो । क्याम्पसको नाममा जग्गाधनी प्रमाणपूर्जा नहुँदा त्यो अनुदान समेत रोकिएको छ ।’

क्याम्पसले आफूले भोगचलन गरेको जग्गामध्येबाट केही जग्गा भानु साहित्यिक प्रतिष्ठानलाई कार्यालय र भानुभक्त आचार्यको पूर्ण कदको शालिक राख्न दिएको जनाएको छ ।

क्याम्पसको भोगाधिकारमा रहेको जग्गाको स्वामित्व क्याम्पसका नाममा कायम गर्न स्थानीय सरकार मेचीनगर नगरपालिका, प्रदेश सरकार तथा सङ्घीय सरकार एवम् माननीयलगायत सम्बद्ध सरोकारवाला निकायमार्फत् विशेष पहलकदमी गरिने उप्रेतीको भनाइ छ ।